काठमाडौं । काठमाडौंमा महिलाको सुनको सिक्री लुट्ने व्यक्ति अन्ततः प्रहरीको फन्दामा परेका छन्। असार १५ गते काठमाडौंको नागार्जुन नगरपालिका–२ नर्सरीचोकमा हिँड्दै गरेकी एक महिलाको सुनको सिक्री लुटिएको थियो। उक्त घटनाबारे पीडिताले तत्क्षणै प्रहरीलाई जानकारी गराएकी थिइन्।

लुटपाटमा संलग्न व्यक्ति २२० सीसीको पल्सर मोटरसाइकलमा सवार थिए। घटनापछि प्रहरीले वरपरका विभिन्न सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान अघि बढाएको थियो।

करिब एक महिनापछि, साउन १२ गते, उस्तै शैलीमा स्वयम्भूको ठूलोभर्‍याङस्थित स्वागतमार्गमा फेरि सिक्री लुटपाट भयो। यस पटक पनि २२० सीसीकै पल्सर मोटरसाइकल प्रयोग गरिएको थियो। तर, मोटरसाइकलका नम्बर फरक–फरक देखिएका कारण प्रहरीले दुवै घटनामा एउटै व्यक्तिको संलग्नता भएको आशंका गर्‍यो।

यसपछि प्रहरी वृत्त स्वयम्भूका प्रमुख डीएसपी उद्धवसिंह भाटको नेतृत्वमा विशेष टोली खटाइयो। अनुसन्धानको क्रममा प्रहरीले आइतबार (भदौ ८) साँझ सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ का ३६ वर्षीय कर्मा तामाङलाई पक्राउ गरेको हो। उनलाई काठमाडौंको कुमारीगालबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार तामाङले लुटपाटका क्रममा आफ्नो मोटरसाइकलमा फरक–फरक नम्बर प्लेट प्रयोग गर्ने गरेका थिए। उनको साथबाट वाग्मती प्रदेश०२–०२९प८९६८ नम्बरको पल्सर मोटरसाइकल र वाग्मती प्रदेश०२–०३१प७०९८ नम्बरको प्लेट बरामद गरिएको छ।

हाल तामाङमाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले माग गरेको पाँच दिनको म्याद दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय