
सुरक्षा सरोकार – जब गुन्डागर्दी वा अपराधमाथि प्रहरी अधिकारी निर्मम बनेका घटनाहरू आउँछन्, त्यतिबेला प्रायः मिडियामा त्यस अधिकारीलाई फिल्मी चरित्र ‘सिंघम’ सँग तुलना गरिँथ्यो। तर, काठमाडौंमा अहिले यो मेटाफोर परिवर्तन भइरहेको छ। अब सिंघम होइन, किलो वान अर्थात् जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी।
पछिल्ला दिनमा अधिकारी लगातार गुन्डागर्दीविरुद्ध हावी हुँदै आएका छन्। यसको पछिल्लो उदाहरण हो, चर्चित गुन्डा भनेर परिचित रेस लामा (गोपाल मोक्तान) को पक्राउ। चाबहिलस्थित ‘ए वान क्याफे’बाट आइतबार राति प्रहरी वृत्त गौशालाले उनलाई पक्राउ गर्यो। उनले एक व्यक्तिलाई कुटपिट गरेको उजुरीका आधारमा अभद्र व्यवहारको कसुरमा पक्राउ पुर्जी लिएर पक्राउ गरिएको हो। यसअघि तरबारले केक काटेको घटनामा पनि उनी पक्राउ परेका थिए।

यसअघि, राजु गोर्खाली भदौ १ गते बैंकिङ्ग कसुरमा पक्राउ परेका थिए। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट कांग्रेसको उम्मेदवार सिफारिसमा समेत परेका थिए। त्यसअघि मिलन गुरुङ (चक्रे मिलन) पक्राउ परेका थिए। नेकपा एमाले निकट भनिएका चक्रे मिलन समाजसेवामा लागे पनि प्रहरी नजिक उनी गुन्डा गतिविधिमा संलग्न देखिएका कारण पक्राउ गरिएको थियो। उनी काठमाडौं र भक्तपुरका दुई छुट्टाछुट्टै मुद्दामा धरौटीमा छुटिसकेका छन्।
यो शृंखला अझ अघि बढ्दै ठमेल क्षेत्रमा चर्चित कुमार घैंटे समूहका भनिएका युवराज गुरुङ उर्फ सानुभाई समेत पक्राउ परेका थिए। ठमेलकै क्लबमा झगडा गरेको अभियोगमा उनीसँगै अन्यलाई समेत प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दा दर्ता गरेको थियो। पछि उनीहरू धरौटीमा छुटे।
एसएसपी अधिकारीले सुरुदेखि नै स्पष्ट पारिसकेका छन्–
“गुन्डागर्दी गर्ने, समाजमा डर त्रास फैलाउने कसैलाई पनि छोडिँदैन। शान्तिपूर्ण जीवनको प्रत्याभूति गराउनु प्रहरीको कर्तव्य हो।”
उनको निर्देशनअनुसार अहिले गुन्डागर्दी गर्नेहरुको लामो सूची तयार भएको छ। सामाजिक सञ्जालमार्फत हुने डर त्रास देखाउने क्रियाकलापदेखि लिएर पुराना आपराधिक गतिविधिसम्म प्रहरीको निगरानीमा छन्। प्रहरी स्रोतका अनुसार, ‘अब टाउको उठाएर डर देखाउने होइन, टाउको लुकाएर अपराध कबुल गर्ने समय आएको छ, किनभने माथिबाट नै निर्मम हिसाबले काम गर्ने आदेश छ।’
यसरी, काठमाडौंमा शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउन किलो वान प्रमुख एसएसपी विश्व अधिकारीको नाम गुन्जिन थालेको छ।



