सुर्खेत — नेटवर्किङ व्यवसायको अवैध धन्दा सञ्चालन गर्दै आएका स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.का सञ्चालक र कर्मचारीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालको इजलाशले ३० साउन २०८२ मा वीरेन्द्रनगर–४ मुलपानीस्थित स्काइ ड्रिम इन्टरप्रेनर्समार्फत ग्लोबल ओरियन्स प्रा.लि.मा रोजगारी लगाइदिने प्रलोभनमा ठगी गरेको अभियोगमा कम्पनीका सञ्चालक डोटी सायल गाउँपालिका–२ का २६ वर्षीय नरेश बोहोरा र कञ्चनपुर बेलडाँडी–१ की २१ वर्षीया निर्मला धामीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।

यसैबीच अदालतले मनिषा सिंहसँग ७ लाख ५० हजार, कमला चिमालासँग ६ लाख, कमल शाहीसँग ५ लाख, कृष्ण सिंहसँग १ लाख २५ हजार, सुनिता साउदसँग २५ हजार र रवीन्द्र शाहीसँग १० हजार धरौटी मागेर थुनामुक्त गर्ने आदेश गरेको थियो। तर धरौटी नबुझाएकाले उनीहरू पनि कारागार चलान भएका छन्।

सुर्खेत प्रहरी प्रवक्ता डीएसपी मोहनजंग थापाका अनुसार उनीहरू विरुद्ध जिल्ला प्रहरी कार्यालयमा थप ठगीसम्बन्धी उजुरी दर्ता भएकाले धरौटी बुझाए पनि फेरि पक्राउ गर्ने तयारी गरिएको थियो। प्रहरी पक्राउ गर्ने तयारीको जानकारी पाएपछि उनीहरूले धरौटी नबुझाएको खुलेको छ।

पीडितहरूले गत ५ साउन २०८२ मा स्काइ ड्रिम इन्टरप्रेनर्समार्फत ग्लोबल ओरियन्स नेपाल प्रा.लि.मा सीप सिकाइ र आकर्षक तलब सुविधासहित रोजगारी दिने प्रलोभनमा ठगिएको उजुरी दिएका थिए। सोही आधारमा उनीहरू पक्राउ परेका थिए।

पक्राउपछि जिल्लाप्रहरी कार्यालय सुर्खेतमा आफूहरू ठगिएको भन्दै ५१ जनाले मुद्दा दर्ता गरेका थिए। प्रहरीले ६४ लाख रुपैयाँ विगो असुली र कैद सजायको मागसहित २७ साउन २०८२ मा अनुसन्धान प्रतिवेदन अदालतमा पेस गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय