
काठमाडौं । चलचित्र ‘ऐरी’ का निर्माताले अभिनेता धीरज मगरविरुद्ध १४ करोडभन्दा बढी क्षतिपूर्तिको माग गर्दै चलचित्र निर्माता संघमा उजुरी दिएका छन्।
निर्माता कम्पनी मल्टिमेट प्रालिका तर्फबाट कमलबहादुर आलेले दिएको उजुरी २ भदौमा संघमा दर्ता भएको अध्यक्ष नवल खड्काले जानकारी दिएका छन्।

आलेले मगरविरुद्ध कूल १४ करोड ७९ लाख ५१ हजार ९५३ रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्। सहमतिअनुसार धीरज सुटिङमा उपस्थित नहुँदा फिल्मलाई सो बराबरको क्षति पुगेको उजुरीमा उल्लेख छ।
१० लाख रुपैयाँ पारिश्रमिकमध्ये ४ लाख अग्रिम बुझाएपनि धीरजले निर्धारित समयमा सुटिङमा हाजिर नगरेको निर्माताको दाबी छ। उजुरी दिनुअघि कानूनी नोटिससमेत पठाइएको तर धीरज सम्पर्कमा नआएको जनाइएको छ।
धीरजले १६ दिन मात्र ‘ऐरी’ को छायांकनमा सहभागिता जनाए पनि सहमतिअनुसार बाँकी २८ दिन नआएको निर्माताको भनाइ छ। हालै करिब एक महिना ढोरपाटन क्षेत्रमा सुटिङ भए पनि झण्डै एक वर्ष चल्ने भनिएको फिल्मको छायांकन अहिले रोकिएको छ।



