
रुपन्देही — त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायत नेपाल–भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार, रुपन्देहीमा यति ठूलो संख्यामा नक्कली शैक्षिक प्रमाणपत्र बरामद भएको यो पहिलो घटना हो।

भारत कानपुर नौबस्तीका अभिषेक यादवलाई इलाका प्रहरी कार्यालय बेलहियाबाट प्रहरी निरीक्षक मुकेश न्यौपानेको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो।
उनको साथबाट त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट १०० थान, सर्टिफिकेट ३६ थान, स्ट्याम्प प्याड ५ वटा, स्ट्याम्प ३ वटा, त्रिभुवन विश्वविद्यालय २०१२ लेखिएको ४ हजार ४० थान होलोग्राम स्टीकर, उच्च माध्यमिक शिक्षा परिषद्का २ हजार थान स्टीकर, राष्ट्रिय परीक्षा बोर्ड लेखिएको १ हजार ७ सय थान स्टीकर र सिटीईभीटी लेखिएको १ हजार ९ सय थान होलोग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, भारतका अमिटी युनिभर्सिटी उत्तरप्रदेश, जवाहरलाल नेहरू टेक्नोलोजी युनिभर्सिटी हैदरावाद, छत्रपति साहु जी महाराज युनिभर्सिटी कानपुर, आसाम उच्च विद्यालय काउन्सिल, कुरूक्षेत्र विश्वविद्यालय र आन्ध्रा युनिभर्सिटीका मार्कशीट, चारित्रिक प्रमाणपत्र, स्थानान्तरण प्रमाणपत्र, लेटर प्याडलगायतका नक्कली कागजात पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए।



