
सुरक्षा सरोकार । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल सोमबार विशेष अदालतमा उपस्थित भएका छन्। पौडेलको उपस्थितिको निवेदनमाथि विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले ५० हजार रुपैयाँ धरौटी तोक्ने आदेश गरेको छ।
गत ५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध गैरकानुनी लाभसम्बन्धी मुद्दा दायर गरेको थियो। यस मुद्दामा पौडेलसँगै निमबहादुर वली, रमेशप्रसाद पोखरेल, रामशरण गायक, म्याक्स इन्टरनेसनल प्रालि र अकबर हुसेन पनि प्रतिवादी रहेका छन्।

अख्तियारले दायर गरेको अभियोगपत्र अनुसार, राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट आर्थिक वर्ष २०७५/७६ मा भएको खरिद प्रक्रियामा भ्रष्टाचार भएको दाबी गरिएको छ। यस प्रक्रियाले सरकारले करिब ५ करोड ८० लाख रुपैयाँ नोक्सान व्यहोर्नु परेको उल्लेख गरिएको छ।



