
काठमाडौँ — उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ४१ ओटा दुईपाङ्ग्रे सवारीसाधन (मोटरसाइकल र स्कुटर) काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार धनीलाई हस्तान्तरण गरेको छ।
कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले १९ ओटा मोटरसाइकल र २२ ओटा स्कुटर सम्बन्धित धनीलाई बुझाउनुभयो।

उक्त सवारीसाधनहरू काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा दर्ता भएको निवेदनका आधारमा खोजतलास गरिएको हो। प्रहरीले केही सवारीसाधन वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका जगाती, ठिमी, थली, नरेफाँट, काँडाघारी, लैनचौर, चापागाउँ, नयाँबानेश्वर, हात्तिसार, एयरपोर्ट, सिफल, पुरानो बसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार, नयाँ बसपार्क र बालाजु लगायतका स्थानबाट फेला पारेको जनाएको छ।
यससँगै, गत साउन महिनादेखि हालसम्म फेला परेका ५२ ओटा मोटरसाइकल तथा स्कुटर धनीलाई जिम्मा लगाइसकिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ।



