
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न घटनाबारे चार लाख २८ हजार ९६ वटा फोन कल प्राप्त गरेको छ। परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार यो अवधि भित्र प्राप्त फोनमध्ये सबैभन्दा धेरै झगडासम्बन्धी सूचना रहेका छन्।
रेकर्ड अनुसार, झगडा भएको भनिएका घटनामात्र २९ हजार १४८ पटक सूचित गरिएका छन्। त्यसपछि विवादका कारण गरिएको फोन २७ हजार ९६८ पटक पुगेको छ।

यस्तै, सवारी दुर्घटना सम्बन्धी १३ हजार ६४५, चोरी ६ हजार ४५८, कुटपिट ५ हजार १११, घरेलु हिंसा ४ हजार ५४५, मापसे गरी होहल्ला गरेको ४ हजार ३४४, आगलागी २ हजार ७२२ र मानिस हराएको १ हजार ६५९ पटक सूचना आएको छ।
त्यसैगरी, यौनजन्य दुर्व्यवहारसम्बन्धी १ हजार ४२१, जुवातास १ हजार २१६ र लागुऔषध मुद्दासम्बन्धी १ हजार १९२ पटक फोन सूचना प्राप्त भएको प्रहरी परिसरको रेकर्डमा उल्लेख छ।



