
बारा । जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाका आधारमा सिम्रौनगढ नगरपालिका–६ स्थित नहर नजिकबाट प्रतिबन्धित लागू औषध ट्रामाडोलको १०,३८० पिस क्याप्सुलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमाण्डमा जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज, पर्साबाट खटिएको संयुक्त टोलीले भारततर्फबाट आउँदै गरेको BR05B K7035 नम्बरको भारतीय नम्बर प्लेटको Honda SP Shine मोटरसाइकल चेकजाँच गर्दा लेगार्डमा राखिएको बोराबाट ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारत, बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लाको जितना थानाअन्तर्गत अगर्वा ग्रामपञ्चायत वडा नं. ६ को कोडीगावा टोल निवासी ५० वर्षीय मन्जन साह उर्फ उपेन्द्र साह रहेका छन्।
पक्राउ परेका साहले मोटरसाइकलको लेगार्डमा बोरामा लुकाइ राखिएको १०३८ पत्ता (१०,३८० पिस) ट्रामाडोल ल्याउँदै गरेका थिए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) विजयराज पण्डितले जानकारी दिएका छन्।



