काठमाडौं — नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल, कपन र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ को संयुक्त आयोजनामा कपनस्थित कार्यदलको परिसरमा ५५० वटा फलफूलका बिरुवाहरू रोपिएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनको उद्देश्यले गरिएको उक्त वृक्षारोपण कार्यक्रममा प्रहरी तथा रोटरी समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

वृक्षारोपण कार्यक्रमको उद्घाटन प्रहरी उपरीक्षक तथा कार्यदल प्रमुख दयानिधि ज्ञवली र रोटरी इन्टरनेसनलका ‘लिड चेयर’ रोटेरियन विष्णुहरि दाहालले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा ओखर, तेजपात, लप्सी, स्याउ, कागती, सुन्तला, जुनार, नासपाती लगायत १६ प्रजातिका बिरुवाहरू रोपिएको थियो।

प्रहरी उपरीक्षक ज्ञवालीले यस्ता सृजनात्मक क्रियाकलापहरूले वातावरणमा सकारात्मक प्रभाव पार्ने, अक्सिजन उत्सर्जन बढाउने र समाजमा शीतलता ल्याउने बताए।

रोटरी गभर्नर विनोद कोइरालाको विशेष पहलमा आयोजित उक्त वृक्षारोपण अभियानअन्तर्गत आजै देशभर रोटरी क्लबहरूले ५० हजार बिरुवा रोप्ने लक्ष्य लिएको लिड चेयर दाहालले जानकारी दिए।

कार्यक्रममा रोटरी क्लब अफ मातृभूमि बालुवाटारसहित आठ क्लबहरू—रोटरी क्लब अफ बौद्ध, काठमाडौँ डाउनटाउन, राजधानी, गोङ्गबु, ग्रीनल्यान्ड, ठमेल र काठमाडौँ सर्कल—को संयुक्त सहभागिता थियो।

वृक्षारोपण कार्यक्रममा क्लब असिस्टेन्ट गभर्नरहरू महेन्द्रराज भुसाल, बुद्धिमान श्रेष्ठ, कविता मानन्धर लगायत रोटरियन, रोटर्याक्टर तथा इन्टरयाक्टरहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय