
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल ले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउने कार्यमा उल्लेखनीय योगदान पुर्याएको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी लाई प्रशंसापत्रद्वारा विशेष सम्मान गरेका छन्।
गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच गृहमन्त्री अर्यालले एसएसपी अधिकारीको कार्यक्षमता, नेतृत्वदक्षता र परिणाममुखी कार्यशैलीको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरेका हुन्। उनले पछिल्लो समय काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा देखिएको सुधार, सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियम कार्यान्वयनमा कडाइ तथा जनचेतनामूलक अभियान सञ्चालनमा अधिकारीको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे।

विशेषगरी बढ्दो सवारी चापबीच पनि ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउँदै सर्वसाधारणलाई सहज आवागमन सुनिश्चित गर्न एसएसपी अधिकारीले खेलेको सक्रिय भूमिका सराहनीय रहेको गृहमन्त्रीको भनाइ थियो। उनले यस्ता उदाहरणीय कार्यले समग्र प्रहरी संगठनलाई थप प्रेरणा दिने विश्वास व्यक्त गरे।
यसैबीच एसएसपी नवराज अधिकारी ले प्राप्त सम्मानले थप जिम्मेवारी र उत्साह बढाएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी ढंगले ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले ट्राफिक अनुशासन कायम गर्न नागरिकको सहकार्य अपरिहार्य रहेको समेत उल्लेख गरे।
पछिल्लो समय काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा देखिएको सुधार, हराएका सवारी साधनको खोजी तथा प्रविधिमैत्री सेवाको विस्तारजस्ता कार्यले ट्राफिक प्रहरीप्रति नागरिकको विश्वाससमेत बढ्दै गएको सरोकारवालाहरूको भनाइ छ।



