वीरगञ्ज – वीरगञ्ज भन्सार क्षेत्रबाट स्रोत खुल्न नसकेको २० लाखभन्दा बढी रकमसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौंका ५० वर्षीय विनयशंकर साह तुराहा रहेका छन्।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा सवार तुराहालाई सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार कार्यालय अगाडि रोकेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा मोटरसाइकलको सिटकभरमुनि लुकाएर राखिएको अवस्थामा नेपाली २० लाख २ हजार ५० रुपैयाँ र भारतीय ६ सय रुपैयाँ बरामद भएको हो।

बरामद रकमको स्रोत खुलाउन नसकेपछि रकम र मोटरसाइकलसहित तुराहालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

पक्राउ परेका तुराहालाई आवश्यक कारबाहीका लागि शुक्रबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय