
काठमाडौं । अमेरिकामा आयोजित ‘गाउँछ अमेरिका’ कार्यक्रममा सहभागी हुन अमेरिका पुगेकी गायिका कला (हरिकला) लम्साल र आयोजक संस्था फ्लाई नेपाबीच मतभेद उत्पन्न भएको छ।
गायक बद्री पंगेनी, प्रताप दास र गायिका एलिना चौहानसँगै अमेरिका पुगेकी लम्साल स्वास्थ्य समस्याका कारण नेपाल फर्किन बाध्य भइन्। नेपाल फर्कने क्रममा उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आयोजकले बिरामी पर्दा बेवास्ता गरेको र मानसिक दबाब दिएको आरोप लगाएकी थिइन्।

तर आयोजक फ्लाई नेपाका तर्फबाट विनोद अधिकारीले भने लम्सालको आरोप असत्य रहेको प्रष्ट पारेका छन्। उनले भने, “गायिका लम्साल नेपालबाटै ढाडको नशामा समस्या भएर बिरामी अवस्थामा आउनुभएको रहेछ। यहाँ आएपछि बिरामी हुनु भएको हो। हामीले उपचार गर्यौं र उहाँ आफ्नो इच्छा अनुसार फर्किनुभएको हो।”
अधिकारीका अनुसार लम्साललाई कार्यक्रममा सहभागी गराउने, पारिश्रमिक दिने, टिकटको व्यवस्था गर्ने काम आयोजकले गरेको थियो। उनले थपे, “औषधी ल्याउन बिर्सनुभएको रहेछ, त्यसैले कार्यक्रममा भाग लिन गाह्रो भयो। उहाँकै सहमतिमा फर्कनुभयो। झुठा आरोप किन लगाइन् भन्ने बुझ्न सकेका छैनौं।”
सोही विषयमा अमेरिका पुगेकी गायिका एलिना चौहानले पनि आयोजकलाई दोष दिनुपर्ने अवस्था नरहेको बताइन्। उनले भनिन्, “लम्साल दिदी बिरामी पर्नुभएको हो, आयोजकको तर्फबाट असहज केही गरिएको छैन। उहाँ नेपालबाटै बिरामी अवस्थामा आउनुभएको रहेछ।”
त्यस्तै, गायक बद्री पंगेनीले आयोजकले लम्साललाई ससम्मान राखेको स्पष्ट पारे। उनले भने, “आयोजकबाट कुनै असहज परिस्थिति निर्माण भएको छैन, तर लम्साल बहिनीले सामाजिक सञ्जालमा लेखेको देख्दा अचम्म लागेको छ।”
यसअघि ‘गाउँछ अमेरिका, नाच्छ अमेरिका, हाँस्छ अमेरिका, सुन्छ अमेरिका’ जस्ता कार्यक्रम आयोजना गर्दै आएको फ्लाई नेपाबीचको यो विवाद पछिल्लो समय कला क्षेत्रमा चर्चाको विषय बनेको छ।
फ्लाई नेपाको आधिकारिक धारणा
फ्लाई नेपा ट्राभलले जारी गरेको विज्ञप्तिमा गायिका लम्सालको आरोप असत्य भएको दाबी गरिएको छ। प्रमुख बुँदाहरू यसप्रकार छन् :
- सबै कलाकारलाई ट्राभल इन्स्योरेन्स आवश्यकताको जानकारी गराइएको थियो।
- भिसा प्रक्रिया अघि स्वास्थ्य अवस्थाबारे सोध्दा लम्सालले केही जानकारी गराएकी थिइनन्।
- चिकित्सकको सल्लाहअनुसार अन्तर्राष्ट्रिय यात्रा अघि स्वास्थ्य परीक्षण गर्नुपर्ने भए पनि लम्सालले आयोजकलाई यसबारे नबताएको।
- नेपाल फर्कने निर्णय लम्सालकै व्यक्तिगत निर्णय रहेको।
- स्वास्थ्य समस्या हुँदाहुँदै पनि उनले केही कार्यक्रममा प्रस्तुति दिएकी थिइन्, आयोजकले आवश्यक सबै व्यवस्था गरेको थियो।
- अमेरिका उपचारका लागि ४–५ महिना लाग्ने भन्ने कुरा आयोजकले कहिल्यै भनेको छैन।
- सम्झौताअनुसारको पूरा रकम र थप ४१,५०० डलर लम्साललाई दिइएको छ।
- साथी वा परिवारसँग सम्पर्क गर्न प्रतिबन्ध लगाइएको भन्ने दाबी असत्य छ।
विज्ञप्तिमा भनिएको छ, “यदि लम्साललाई अन्याय भएको ठान्छिन् भने कानुनी प्रक्रिया अवलम्बन गर्न सक्नुहुन्छ। हामी पारदर्शी सहयोग गर्न तयार छौं।”
फ्लाई नेपाले लम्सालको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै कार्यक्रममा सहभागिताका लागि धन्यवाद प्रकट गरेको छ।