काठमाण्डौं — मोरङको विराटचोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि उत्पन्न तनावपूर्ण अवस्थाको क्रममा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशी घाइते भएका छन्।

शुक्रबार बिहान ११ बजेतिर ना१क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीको दुहबी नगरपालिका–९ निवासी ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनापछि आक्रोशित आफन्त र स्थानीय सर्वसाधारणले विराटनगर–विराटचोक सडकखण्डमा प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको हो। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले ९ राउन्ड हवाईफायर र ८ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

टिपर हटाउने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गर्दा डीएसपी जोशी घाइते भएका हुन्। उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ।

प्रदर्शनकारीहरूले मृतकको शव सडकमा राखेर अवरोध गर्ने प्रयास गर्नुका साथै टिपरमा आगजनीको प्रयाससमेत गरेका थिए। प्रहरीद्वारा मृतकको शव उठाएर पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ।

दुर्घटनामा संलग्न टिपरका चालक, सुन्दरहरैँचा–१२ निवासी २५ वर्षीय पवन योन्जनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय