
काठमाडौं— सामाजिक सञ्जाल टिकटकमार्फत आतंक फैलाएको आरोपमा पक्राउ परेका सात जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौं पठाइएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजिकुमार आचार्यका अनुसार पक्राउ परेका सातै जनालाई बिहीबार भद्रकाली पठाइएको हो। उनीहरूविरुद्ध मुलुकी फौजदारी अपराध संहिताअनुसार सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान हुने भएको छ।

प्रहरीका अनुसार उनीहरूले १०/१५ जनाको समूह बनाई खुकुरी र तरबार प्रयोग गरेर केक काट्ने, मसल प्रदर्शन गर्ने तथा यस्ता क्रियाकलापको भिडियो बनाई टिकटकमा पोस्ट गर्ने गरेका थिए। यस्ता पोस्टहरूले सामाजिक अशान्ति फैलन सक्ने भन्दै प्रहरी प्रशासनले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।



