
काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले सवारीसाधनको जरिवाना काटे वापत २५ प्रतिशत विशेष भत्ता पाउने भन्ने आशयका समाचार तथा सामाजिक सञ्जालमा फैलाइएका दाबीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरी प्रधान कार्यालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा ट्राफिक नियम उल्लंघन गरेबापत उठाइने जरिवानाको सम्पूर्ण रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने र त्यसबाट ट्राफिक प्रहरी कर्मचारीले कुनै पनि प्रकारको अतिरिक्त शुल्क वा सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको स्पष्ट पारेको छ।

नेपाल प्रहरीले तथ्य र आधिकारिक जानकारीबिना अनुमानका आधारमा समाचार तथा टिप्पणी प्रकाशित वा प्रसारित हुँदा आम नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने अवस्था आउन सक्ने जनाएको छ।
प्रहरीले अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाको पछि नलाग्न सम्पूर्ण सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई अनुरोध गरेको छ।
साथै, समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गरी जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।
उक्त विज्ञप्तिमा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेको हस्ताक्षर रहेको छ।




