काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय रौतहटअन्तर्गत कार्यरत ४७ जना प्रहरी कर्मचारीको एकैपटक काज सरुवा गरेको छ। सरुवासँगै जिल्लाका अधिकांश प्रहरी चौकीका इन्चार्जसमेत परिवर्तन भएका छन्।

प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले असार २२ गते जारी गरेको चलानी नम्बर ८३०८ को पत्रअनुसार वरिष्ठ प्रहरी नायब निरीक्षकदेखि प्रहरी सहायक निरीक्षकसम्मका ४७ जनालाई अर्को आदेश नभएसम्मका लागि काजमा खटाइएको हो।

काज सरुवाको सूचीमा ७ जना वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई), ८ जना प्रहरी नायब निरीक्षक (सई) र ३२ जना प्रहरी सहायक निरीक्षक (असई) रहेका छन्। प्रधान कार्यालयले जिल्लाभित्र रहेका सबै प्रहरी चौकीका इन्चार्जलाई समेत काज सरुवा गरेको जनाएको छ।

प्रधान कार्यालयले प्रदेश प्रहरी कार्यालयसँग समन्वय गरी सम्बन्धित प्रहरी कर्मचारीलाई तोकिएको कार्यस्थलमा तत्काल रवाना गर्न निर्देशन दिएको छ। साथै, बिदा स्वीकृत भई बिदामा रहेका कर्मचारीको बिदा रद्द गरी कार्यालयमा स्ट्यान्डबाइ राख्नसमेत भनिएको छ।

दरबन्दी कायम रहेकै अवस्थामा ठूलो संख्यामा एकैपटक काज सरुवा गरिएपछि प्रहरी संगठनभित्र यसको चर्चा सुरु भएको प्रहरी स्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालले प्रधान कार्यालयको एउटै पत्रमार्फत ४७ जनाको काज सरुवा भएको पुष्टि गर्दै अधिकांश प्रहरी कर्मचारीलाई नयाँ जिम्मेवारीका लागि रवाना गरिसकिएको जानकारी दिए। उनका अनुसार यसअघि अन्यत्र दरबन्दी भई रौतहटमा कार्यरत प्रहरी कर्मचारीलाई पनि क्रमशः सम्बन्धित कार्यालयमा पठाउने काम भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय