
काठमाडौं, १८ जेठ — काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक चाप, सडक सुरक्षा र प्रविधिमैत्री ट्राफिक व्यवस्थापनका विषयमा केन्द्रित एकदिवसीय Integrated Traffic Management System सम्बन्धी उच्चस्तरीय कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सो अवसरमा उहाँले Traffic Police Mirror–2026 को लोकार्पण गर्नुका साथै प्रकाशनमा सहयोग पुर्याउने व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले कार्यशालालाई समयसापेक्ष र महत्वपूर्ण प्रयासको रूपमा व्याख्या गर्नुभयो। उहाँले नीति निर्माणकर्ता, कार्यान्वयन निकाय, विज्ञ तथा सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याएर सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सुधारका आवश्यक विषय पहिचान गर्न गोष्ठी सफल भएको बताउनुभयो।
सडक सुरक्षा कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै उहाँले सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय, जिम्मेवारीबोध तथा प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेको धारणा राख्नुभयो। वैज्ञानिक ट्राफिक व्यवस्थापन, निष्पक्ष कानुन कार्यान्वयन र पारदर्शितामार्फत सडक सुरक्षालाई थप व्यवस्थित बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की ले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ले Traffic Police Mirror प्रकाशनको औचित्यबारे प्रतिवेदन प्रस्तुत गर्नुभयो।
त्यसैगरी ट्राफिक विज्ञ सुनिल पौडेल ले Integrated Traffic Management System सम्बन्धी प्रस्तुति दिनुभएको थियो भने Profession Holdings प्रालिका निर्देशक राजेन्द्र प्रसाद त्रिपाठी ले कार्यशालाको उद्देश्य र आवश्यकताबारे धारणा राख्नुभएको थियो।
यसअघि बिहान शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल ले गोष्ठीको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, यातायात व्यवस्था विभाग, सडक विभाग, सडक सुरक्षा परिषद्, सडक बोर्ड नेपाल, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, थापाथली इन्जिनियरिङ क्याम्पस, Nepal Automobile Importers and Manufacturers Association लगायतका निकायका प्रतिनिधिहरूले प्रस्तुतीकरण गरेका थिए।
तथ्यमा आधारित विश्लेषण, नीतिगत सुधार, प्रविधिको प्रभावकारी उपयोग, अन्तरनिकाय समन्वय तथा अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले आयोजित कार्यशालामा दीर्घकालीन ट्राफिक व्यवस्थापन रणनीति, सडक दुर्घटना न्यूनीकरण, सवारी आयात नीति, लाइसेन्स प्रणाली सुधार, स्क्र्याप नीति कार्यान्वयन, राइड–सेयरिङ नियमन, डिजिटल ब्लुबुक, Intelligent Traffic System (ITS), E-Challan, ANPR, CCTV विस्तार तथा डेटा–आधारित निर्णय प्रणाली विकासलगायत विषयमा विस्तृत छलफल भएको थियो।
कार्यशालाले NRSAP 2021–2030 का लक्ष्य हासिल गर्न संस्थागत समन्वय र प्रतिबद्धता सुदृढ गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।



