काठमाडौं, १४ जेठ । नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, नक्सालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुवनेश्वर तिवारीले मोरङ र सुनसरी जिल्लास्थित ट्राफिक प्रहरी कार्यालयहरूको निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।

स्थलगत निरीक्षणका क्रममा एसएसपी तिवारीले ट्राफिक प्रहरी कर्मचारीलाई सवारी दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री कार्यशैली अपनाउन निर्देशन दिँदै अनुशासित, पारदर्शी र जिम्मेवार सेवा प्रवाहमार्फत नागरिकलाई सुरक्षित यात्रा सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पछिल्लो समय बढ्दो सवारी चाप र सडक दुर्घटनालाई चुनौतीका रूपमा उल्लेख गर्दै सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन व्यवहारिक सुधार आवश्यक रहेको बताउनुभयो । साथै ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन, नागरिकमैत्री सेवा र जनचेतनामूलक अभियानलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको थियो ।

निरीक्षणकै क्रममा एसएसपी तिवारीले ट्राफिक प्रहरी कर्मचारीहरूले कार्यक्षेत्रमा भोग्दै आएका समस्या तथा गुनासोसमेत सुन्नुभएको थियो ।

त्यस अवसरमा “सुरक्षित चालक अभियान” अन्तर्गत सिटी सफारी चालकहरूलाई “सुरक्षित चालक” अंकित ज्याकेट वितरण गरिएको थियो ।

मोरङ निरीक्षणका क्रममा सिटी सफारीमा छुटेको यात्रुको ल्यापटप, नगद ३० हजार रुपैयाँ तथा एटीएम कार्डसहितको झोला सुरक्षित रूपमा सम्बन्धित व्यक्तिलाई फिर्ता गरी इमान्दारिता प्रस्तुत गर्ने चालक रमेश कामतलाई एसएसपी तिवारीले कदरपत्रसहित सम्मान गर्नुभयो ।

यस्तै, सुनसरीको धरानमा आयोजित अन्तरक्रिया कार्यक्रममा यातायात व्यवसायी, चालक तथा सहचालकहरूसँग सवारी दुर्घटना न्यूनीकरण, सडक अनुशासन र ट्राफिक व्यवस्थापनका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागीहरूले उठाएका समस्या तथा गुनासोमाथि समेत सुनुवाइ गरिएको प्रहरीले जनाएको छ ।

अनुगमन भ्रमणका क्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी, यातायात व्यवस्था कार्यालय मोरङका प्रमुख लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय