
काठमाडौं । डोलप्रसाद अर्याल ले विकासका आधारभूत विषयलाई राजनीतिक स्वार्थसँग जोडेर हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन्। नागार्जुन नगरपालिकाद्वारा आयोजित आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सहभागी हुँदै सभामुख अर्यालले राजधानीमै अझै सडक, खानेपानी, ढल तथा आधारभूत सेवाका विषयमा नागरिकले सास्ती भोग्नुपरेको अवस्था विडम्बनापूर्ण भएको टिप्पणी गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वाधार विकासलाई दलगत राजनीति र सत्ता स्वार्थको विषय बनाइँदा जनताले प्रत्यक्ष दुःख पाएको उल्लेख गरे। “सडक, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता विषय नागरिकको आधारभूत अधिकारसँग जोडिएका विषय हुन्, यी विषयमा राजनीति गर्नु हुँदैन,” सभामुख अर्यालले भने, “यदि विगतका सरकारहरूले जनताको आवश्यकता र दीर्घकालीन विकासलाई केन्द्रमा राखेर प्रभावकारी काम गरेका भए आज राजधानीकै नागरिकले खानेपानी र सडकको समस्याबारे बारम्बार आवाज उठाउनुपर्ने अवस्था आउने थिएन।”

उनले संघीय लोकतान्त्रिक व्यवस्थापछि जनताले विकास, सुशासन र पारदर्शिताको ठूलो अपेक्षा राखेको उल्लेख गर्दै अबका जनप्रतिनिधिहरूले परिणाममुखी काम गरेर नागरिकको विश्वास जित्नुपर्ने बताए। “नयाँ सरकार र ताजा जनादेशसहित आएका जनप्रतिनिधिहरूले पुराना कमजोरी दोहोर्याउनु हुँदैन,” उनले भने, “अब जनताको अपेक्षा अनुसार काम गर्ने, सेवा प्रवाहलाई सहज बनाउने र सुशासनलाई व्यवहारमा लागू गर्ने समय आएको छ।”
सभामुख अर्यालले स्थानीय तहहरू विकास र सेवा प्रवाहका पहिलो आधार भएकाले नगरपालिकाहरूले नीति तथा कार्यक्रम बनाउँदा नागरिकको वास्तविक आवश्यकता पहिचान गर्नुपर्नेमा जोड दिए। उनले योजनाहरू कागजमा सीमित नभई कार्यान्वयनमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै पारदर्शिता, उत्तरदायित्व र जनसहभागितामार्फत मात्रै विकासले सार्थकता पाउने बताए।
कार्यक्रममा नागार्जुन नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा नगरको पूर्वाधार विकास, खानेपानी व्यवस्थापन, सडक विस्तार, शिक्षा, स्वास्थ्य तथा वातावरण संरक्षणका विषयमा समेत विभिन्न सुझाव प्रस्तुत गरिएको थियो।




