रुपन्देही । खुला सीमा, तस्करी नियन्त्रण, नागरिकमैत्री सेवा र संगठनभित्रको आन्तरिक सुधारलाई प्राथमिकतामा राख्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पछिल्लो चार महिनामा उल्लेखनीय कार्यसम्पादन गरेको जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनक शाहीले आफ्नो नेतृत्वको चार महिनाको अवधिमा भएका गतिविधि, उपलब्धि र सुधारका प्रयास सार्वजनिक गर्दै रुपन्देही प्रहरीलाई “प्रविधिमैत्री, उत्तरदायी र नागरिक केन्द्रित प्रहरी संगठन” बनाउने अभियानमा आफूहरू सक्रिय रहेको बताएका छन्।

नेपाल–भारत खुला सीमाका कारण रुपन्देही जिल्ला लामो समयदेखि अवैध ओसारपसार, तस्करी र सीमापार अपराधका चुनौतीसँग जुध्दै आएको छ। यही चुनौतीलाई मध्यनजर गर्दै रुपन्देही प्रहरीले सीमा क्षेत्रमा विशेष निगरानी, संयुक्त गस्ती र प्रविधिमार्फत नियन्त्रण अभियानलाई तीव्रता दिएको छ।

प्रहरीका अनुसार तालिम प्राप्त कुकुरसहितको संयुक्त चेकिङ, सीमावर्ती क्षेत्रमा ५५ भन्दा बढी संयुक्त गस्ती तथा भारतीय सुरक्षा निकायसँग नियमित काउन्टरपार्ट बैठक सञ्चालन गरिएको छ। यसले सीमा सुरक्षालाई थप प्रभावकारी बनाएको दाबी गरिएको छ।

नागरिकमैत्री सेवा विस्तार

रुपन्देही प्रहरीले प्रहरी सेवामा नागरिकको पहुँच सहज बनाउन विभिन्न नवीन अभ्यास सुरु गरेको जनाएको छ। अपाङ्गता भएका सेवाग्राहीका लागि ह्विलचियरको व्यवस्था, निःशुल्क जाहेरी तथा निवेदन लेखन सेवा, र २४ सै घण्टा सहयोगका लागि “नागरिक सहजकर्ता” परिचालन गरिएको छ।

त्यस्तै, सेवा प्रवाहलाई आधुनिक र सहज बनाउन एआई प्रविधिमार्फत जानकारीमूलक भिडियो सामग्री तयार गरिएको छ भने अनलाइन उजुरीका लागि QR कोड प्रणाली लागू गरिएको छ। प्रहरी गस्तीको निगरानी तथा ट्र्याकिङका लागि सामाजिक सञ्जाल र डिजिटल प्रणालीको समेत प्रयोग बढाइएको छ।

प्रहरी संगठनभित्र आन्तरिक सुधार

एसपी शाहीले संगठनभित्र पारदर्शिता र उत्तरदायित्व बढाउन “आन्तरिक सरुवा मापदण्ड” लागू गरिएको जानकारी दिएका छन्। सरुवा र काज प्रक्रियालाई स्पष्ट मापदण्डमा आधारित बनाइएको उनको भनाइ छ।

यस्तै, अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन अनुसन्धान टोलीका लागि छुट्टै विशिष्ट पोशाकको व्यवस्था गरिएको छ भने भीड व्यवस्थापन तथा विपद् उद्धार कार्यलाई प्रभावकारी बनाउन १ हजार ५ सयभन्दा बढी प्रहरी कर्मचारीलाई विशेष अनुशिक्षण तालिम प्रदान गरिएको छ।

राजस्व संकलन र तस्करी नियन्त्रणमा सफलता

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा कुल १८ करोड ४० लाख ८५ हजार ९ सय ४० रुपैयाँ राजस्व संकलन भएको छ। त्यसमध्ये पछिल्लो चार महिनामा मात्रै ८ करोड ८३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ।

यस अवधिमा ७३ जना पक्राउ परेका छन् भने तस्करी तथा अवैध ओसारपसार नियन्त्रण अभियानअन्तर्गत १९२ जना पक्राउ, ४३४ वटा सवारी साधन नियन्त्रणमा लिने कार्य सम्पन्न भएको छ।

तस्करी सञ्जालमाथि निगरानी

रुपन्देही प्रहरीले तस्करी नियन्त्रणलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन विशेष रणनीति अघि सारेको जनाएको छ। तस्करीमा संलग्न १४८ जनाको “तिनपुस्ते विवरण” सहित प्रोफाइल निर्माण गरी नियमित निगरानी र सूचना संकलन सुरु गरिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार यस कदमले संगठित अपराधको सञ्जाल पहिचान र नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, प्रत्येक सीमावर्ती प्रहरी इकाइमा कम्तीमा सात जना थप प्रहरी परिचालन गरिएको छ।

एसपी शाहीले सीमा सुरक्षा, नागरिक सेवा र संगठन सुधारका अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले दिनरात खटिने सम्पूर्ण प्रहरी कर्मचारीको योगदानप्रति सम्मान व्यक्त गर्दै नागरिकको साथ र सहयोगले मात्रै शान्ति सुरक्षा मजबुत हुने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय