
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्की द्वारा प्रहरी नायव महानिरीक्षक (डिआइजी) ओम अधिकारी र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारी लाई उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै पुरस्कृत गरिएको छ ।
काठमाडौं उपत्यकाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने कार्यमा उल्लेखनीय योगदान पुर्याएपछि दुवै प्रहरी अधिकृतलाई सम्मान गरिएको प्रहरी स्रोतले जनाएको छ । पछिल्लो समय उपत्यकामा सुरक्षा चुनौती बढिरहेका बेला प्रहरी नेतृत्वलाई थप सक्रिय, जिम्मेवार र परिणाममुखी बनाउन संगठनले उत्कृष्ट अधिकृतलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गर्दै आएको छ ।

डिआइजी ओम अधिकारीले उपत्यकाको सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउने, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने तथा प्रहरी परिचालनलाई थप चुस्त-दुरुस्त बनाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । विशेषगरी चोरी, लुटपाट, लागूऔषध कारोबार, संगठित अपराध तथा विभिन्न आपराधिक गतिविधि नियन्त्रणमा उनले प्रभावकारी रणनीति अपनाएको बताइन्छ । समुदाय–प्रहरी साझेदारीलाई पनि उनले प्राथमिकतामा राखेका कारण प्रहरीप्रति नागरिकको विश्वास बढ्दै गएको प्रहरी अधिकारीहरूको भनाइ छ ।
त्यसैगरी, एसएसपी नवराज अधिकारीको नेतृत्वपछि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आएको चर्चा प्रहरी संगठनभित्र मात्र होइन, सर्वसाधारणबीच पनि हुने गरेको छ । सडकमा हुने जाम व्यवस्थापन, दुर्घटना न्यूनीकरण, ट्राफिक नियम उल्लंघन गर्ने सवारीमाथि कडाइ, जनचेतनामूलक अभियान तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा उनले विशेष ध्यान दिएका छन् ।
एसएसपी अधिकारी आफैं सडकमा खटिएर ट्राफिक प्रहरीको मनोबल बढाउने, सवारी चालक तथा यात्रुसँग प्रत्यक्ष संवाद गर्ने र व्यस्त चोकहरूमा पुगेर ट्राफिक व्यवस्थापनको अवस्था बुझ्ने कार्यमा सक्रिय देखिने गरेका छन् । जसका कारण ट्राफिक प्रहरीको कार्यशैली थप अनुशासित, जिम्मेवार र जनउत्तरदायी बनेको धेरैको बुझाइ छ ।
उनको नेतृत्वमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीमाथि नियमित चेकजाँच अभियान सञ्चालन हुनुका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि प्रभावकारी रूपमा अघि बढाइएको छ । उपत्यकाका मुख्य सडकहरूमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन गरिएको सक्रियताले सर्वसाधारणबाट समेत सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
उत्कृष्ट कार्यसम्पादनकै कारण डिआइजी ओम अधिकारी र एसएसपी नवराज अधिकारी दुवै जना विभिन्न सरकारी तथा सामाजिक निकायबाट समेत समय–समयमा सम्मानित हुँदै आएका छन् । प्रहरी संगठनभित्र उत्कृष्ट काम गर्ने अधिकृतलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिएको यो पुरस्कारले अन्य प्रहरी कर्मचारीलाई समेत प्रेरणा मिल्ने विश्वास गरिएको छ ।




