
धनगढी । कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्द ‘वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै उनलाई सम्मानसहित पुरस्कृत गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले डीएसपी चन्दलाई सम्मानपत्र प्रदान गर्दै पुरस्कृत गरेका हुन् । प्रहरी संगठनभित्र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै अपराध नियन्त्रण, अवैध गतिविधिविरुद्धको अभियान तथा शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको प्रहरीले जनाएको छ ।

डीएसपी चन्दको १३ महिनाको कार्यकालमा अत्तरिया क्षेत्रमा विभिन्न अभियान सञ्चालन गर्दै करिब १ करोड ७८ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको थियो । साथै विभिन्न आपराधिक गतिविधिमा संलग्न ३३५ जनालाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको दायरामा ल्याइएको तथ्यांक सार्वजनिक गरिएको छ ।
उनको नेतृत्वमा मालाखेती क्षेत्रमा लागूऔषध नियन्त्रण, चोरी तस्करी रोकथाम, फरार प्रतिवादी पक्राउ तथा शान्ति सुरक्षा व्यवस्थापनमा प्रभावकारी काम भएको भन्दै स्थानीय स्तरमा समेत प्रशंसा हुँदै आएको थियो ।
हाल डीएसपी चन्दको जिल्ला प्रहरी कार्यालय डोटीमा सरुवा भइसकेको छ । मालाखेतीबाट बिदाइ हुँदै गर्दा उनले नागरिक सुरक्षालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।




