
काठमाडौं । नेपाल प्रहरी को १४ तले अत्याधुनिक भवन निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका–१, नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा प्रहरी महानिरीक्षक सचिवालय भवन निर्माण गर्न लागिएको हो ।
प्रस्तावित भवन नेपाल प्रहरीको स्वामित्वमा रहेको ६२ हजार ४८१.५४ वर्गमिटर क्षेत्रफलको जग्गामा निर्माण गरिनेछ । भवनको ‘बिल्टअप एरिया’ ११ हजार ३३१.०६ वर्गमिटर रहने जनाइएको छ ।

भवनको लम्बाइ ५५.९ मिटर, चौडाइ ३६.८५ मिटर तथा प्लिन्थ लेभलदेखि उचाइ ५०.४० मिटर रहनेछ । बेसमेन्ट बाहेक भवनमा १४ तला रहने प्रस्ताव गरिएको छ ।
भवन निर्माणमा प्रचलित मापदण्डअनुसार खुला क्षेत्र, पार्किङ तथा अन्य आवश्यक पूर्वाधार समावेश गरिने बताइएको छ । साथै, भवन सञ्चालनका लागि दैनिक १५ हजार लिटर भूमिगत पानी उपयोग गरिने र फोहोर पानी व्यवस्थापनका लागि १५ हजार लिटर क्षमताको प्रशोधन प्लान्ट जडान गरिने जनाइएको छ ।
वातावरण संरक्षण नियमावली, २०७७ अनुसार सार्वजनिक गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन गृह मन्त्रालय, संघीय संसद सचिवालयको पुस्तकालय, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, जिल्ला समन्वय समिति काठमाडौं तथा काठमाडौं महानगरपालिकामा अध्ययन गर्न सकिनेछ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालय ले उक्त प्रतिवेदनमाथि सर्वसाधारणबाट राय तथा सुझाव माग गरेको छ । मन्त्रालयका अनुसार प्रस्तावक नेपाल प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको सिफारिससहित ईआईए प्रतिवेदन स्वीकृतिका लागि पेश गरेको हो ।




