कैलाली । कैलालीबाट डोटी सरुवा भएका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्द को कार्यकाल उपलब्धिमूलक र प्रभावकारी रहेको मूल्यांकन गरिएको छ ।

करीब एक वर्षको कार्यकाल पूरा गरी बिदाइ भएका डीएसपी चन्दले अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा राजस्व चुहावट नियन्त्रणका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन् ।

मिति २०८२ वैशाख २१ गतेदेखि २०८३ जेठ ७ गतेसम्मको अवधिमा इप्रका मालाखेतीले सार्वजनिक गरेको प्रगति विवरणअनुसार विभिन्न आपराधिक गतिविधिविरुद्ध प्रभावकारी कारबाही गरिएको छ ।

प्रहरीका अनुसार उक्त अवधिमा भन्सार छलिका रु. १ करोड ७८ लाख ५७ हजार ८७० बराबरका विभिन्न अवैध सामान बरामद गरिएको छ ।

लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ३९ वटा मुद्दा दर्ता गर्दै ६२ जनालाई पक्राउ गरिएको छ । यस क्रममा ९ किलो १३९ ग्राम चरेस, ९० ग्राम ३१४ मिलिग्राम हेरोइन तथा ६५० थान विभिन्न प्रकारका क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी समग्र आपराधिक गतिविधि नियन्त्रणतर्फ ३९४ वटा मुद्दा दर्ता गरिएकोमा ३३५ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये ३१ जना महिला र ३०४ जना पुरुष रहेका छन् ।

प्रहरीले २४० वटा मुद्दा फर्छ्यौट गरेको जनाएको छ भने १५० वटा मुद्दा अझै बाँकी रहेका छन् । यस्तै, विभिन्न प्रकृतिका २५७ मुद्दा पेन्डिङ अवस्थामा रहेको विवरणमा उल्लेख गरिएको छ ।

फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत अदालतबाट फरार रहेका ३३८ प्रतिवादीमध्ये १०७ जनालाई पक्राउ गरिएको छ, जुन ३१.६५ प्रतिशत हो । त्यस्तै कारागारबाट फरार ६७ जनामध्ये ३७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस अवधिमा प्रहरीले रु. ८ लाख ९ हजार २९० बराबरको अवैध काठ बरामद गरेको छ भने गिट्टी–बालुवा अवैध उत्खननमा संलग्नमाथि कारबाही गर्दै रु. ५० हजार राजस्व संकलन गरेको छ ।

त्यसैगरी १ हजार ७७७ लिटर अवैध घरेलु मदिरा तथा ६ हजार २०० लिटर मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ ।

डीएसपी चन्दको नेतृत्वमा इप्रका मालाखेतीले सीमावर्ती क्षेत्रको सुरक्षा, अपराध नियन्त्रण तथा लागूऔषधविरुद्धको अभियानलाई तीव्रता दिएको भन्दै स्थानीयस्तरमा समेत सकारात्मक चर्चा हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय