
काठमाडौं । दानबहादुर कार्कीले हालै सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) तथा प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुलाई कानुनसम्मत, व्यावसायिक र नागरिकमैत्री ढंगले काम गर्न निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालयमा आयोजित निर्देशन कार्यक्रममा आईजीपी कार्कीले प्रहरी संगठनको गरिमा जोगाउँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जिम्मेवारी निर्वाह गर्न आग्रह गरे। उनले प्रहरी कर्मचारीले व्यावसायिकता, अनुशासन, निष्ठा र इमानदारीलाई आत्मसात गर्दै सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।

आईजीपी कार्कीले नागरिकले सहज, छिटोछरितो र प्रभावकारी सेवा पाउने वातावरण निर्माण गर्न निर्देशन दिँदै सुरक्षा चुनौतीको समयमै पहिचान गरी योजनाबद्ध रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताए।
उनले संगठनभित्र भातृत्वभाव कायम राख्दै कानुनको दायराभित्र रहेर निष्पक्ष रूपमा काम गर्नुपर्ने उल्लेख गरे। साथै, समुदायसँग समन्वय र विश्वास बढाउँदै शान्ति सुरक्षा कायम गर्न सक्रिय भूमिका खेल्न सरुवा भएका प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन्।




