
काठमाडौं । वसन्त रजौरे नेतृत्वको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय ले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्ने अभियान सुरु गरेको छ । कार्यालयले दैनिक कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट प्रहरीलाई ‘बेस्ट पुलिस अफ द डे’ घोषणा गर्दै सम्मान गर्न थालेको हो ।
एसएसपी रजौरेले गत माघ १६ गते विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेपछि उक्त अभियान सुरु गरिएको हो । त्यसको करिब दुई महिनापछि, गत चैत ३० गतेदेखि उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई कदरस्वरूप सम्मान गर्न थालिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हालसम्म ३४ जना प्रहरी कर्मचारी ‘बेस्ट पुलिस अफ द डे’ घोषित भइसकेका छन् । सम्मानित हुनेमा प्रहरी वरिष्ठ नायव निरीक्षक भीमसेन कार्की, प्रहरी सहायक निरीक्षक विक्रान्त थापा, रुद्रबहादुर श्रेष्ठ, जनक राम महरा, सन्देश खनाल र सुशील तामाङ रहेका छन् ।
त्यस्तै प्रहरी हवल्दार सोवर्ण दाहाल, मोतीलाल सापकोटा, टोपबहादुर राना, महेश कुमार चौधरी, अम्बरबहादुर नेपाली, नवराज नाउ, प्रहरी सहायक हवल्दार नवीन परियार, नरेन्द्र सिंह धामी, विजय विक, अङ्कित थापा र नुमबहादुर गुरुङ पनि सम्मानित भएका छन् ।
यसैगरी प्रहरी जवान अनिल परियार, मोहनबहादुर रास्कोटी, भीमप्रसाद गौतम, पवन दमाई, सरोज राई, दीपकसिंह डंगोरिया, अनिता चौधरी, भूपेन्द्रसिंह धामी, देवकला भुसाल, कुमारी रञ्जना महता, सुजन थापा मगर, रामविश्वास महतो, जमुना श्रेष्ठ, सावित्री अवस्थी, अञ्जली धोबी र गोपालबहादुर सार्कीलाई पनि ‘बेस्ट पुलिस अफ द डे’ घोषणा गरिएको छ ।
कार्यालयले ‘बेस्ट पुलिस अफ द डे’ सँगै ‘बेस्ट पुलिस अफ द मन्थ’ कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । चैत महिनाको उत्कृष्ट प्रहरीका रूपमा प्रहरी निरीक्षक गणेश खनाल सम्मानित भएका थिए ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयअन्तर्गत वरिष्ठ र जुनियर गरी करिब साढे चार सय प्रहरी कर्मचारी कार्यरत छन् । तीमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई छनोट गरी सम्मान गर्ने गरिएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख एसएसपी रजौरेका अनुसार नागरिक सेवामा खटिने प्रहरीको कामको दैनिक मूल्याङ्कन गर्दै उत्कृष्ट कार्य गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो । उनले भने, “हरेक दिन नागरिकको सेवा र आफ्नो काम–कर्तव्यको मूल्याङ्कन हुनुपर्छ भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो । राम्रो काम गर्नेलाई पहिचान र प्रोत्साहन मिलोस् भन्ने हाम्रो चाहना हो ।”
उनका अनुसार उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी दोहोरिएर पनि सम्मानित हुन सक्नेछन् । हाल प्रहरी निरीक्षकभन्दा मुनिका कर्मचारीलाई प्राथमिकतामा राखेर सम्मान गरिँदै आएको कार्यालयले जनाएको छ ।




