
काठमाडौं । काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन गरेको छ । उपत्यकाका मुख्य सडक, चोक तथा उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गालगायत क्षेत्रमा ट्राफिक निगरानी र चेकजाँचमा कडाइ गरिएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना नियन्त्रणलाई प्राथमिकतामा राख्दै यात्रुवाहक तथा मालवाहक सवारीसाधनमाथि विशेष निगरानी बढाइएको जनाएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा प्राविधिक रूपमा कमजोर अवस्थाका सवारीसाधनलाई लक्षित गरी अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

अभियानमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी स्वयं सडकमा खटिएका छन् । बिहीबार दिउँसो काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गामा सवारी जाँचका क्रममा उनले चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका हुन् ।
एसएसपी अधिकारीले भने, “सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, सवारीसाधनको अवस्था नियमित परीक्षण गर्न, तीव्र गति नियन्त्रण गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न हामीले विशेष अभियान सञ्चालन गरेका छौँ । दुर्घटना न्यूनीकरणका लागि म आफैँ पनि सडकमा खटिएर अनुगमन गरिरहेको छु ।”
ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय उपत्यकामा हुने अधिकांश दुर्घटनाको मुख्य कारण तीव्र गति, लापरबाहीपूर्ण सवारी सञ्चालन, जथाभावी ओभरटेक, मोबाइल प्रयोग गर्दै सवारी चलाउने तथा मापसे/लापसे गरेर सवारी चलाउने प्रवृत्ति रहेका छन् । यस्ता गतिविधि नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको एसएसपी अधिकारीले बताए ।
हाल नागढुङ्गा, कलङ्की, कोटेश्वर, चाबहिल, जडीबुटी, बल्खु, महाराजगञ्ज र नयाँ बसपार्कलगायत व्यस्त क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको छ । लामो दूरीका सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्था, चालकको स्वास्थ्य अवस्था तथा यात्रु क्षमताबारे समेत निगरानी सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।



