रितु खड्का । नेपाली युवा उद्यमी परशुराम चौहान (प्रल्हाद) ले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय सफलता हासिल गर्दै आफ्नो नाम विश्व कीर्तिमानमा दर्ता गराएका छन्। भारतको पर्यटकीय क्षेत्र गोवास्थित बागा समुद्र तटमा आयोजित अवार्ड समारोहमा उनलाई ‘युनिभर्सल बुक अफ वर्ल्ड रेकर्ड’द्वारा सम्मान प्रदान गरिएको हो।

चौहानलाई नेपालमा बहुक्षेत्रीय स्वास्थ्य सेवा, डायग्नोस्टिक्स तथा परामर्श व्यवसायमा नेतृत्वदायी भूमिका निर्वाह गरेको योगदानका आधारमा “गतिशील युवा उद्यमी” विधामा उक्त विश्व कीर्तिमान प्रदान गरिएको हो। नरुलाज एन्ड कम्पनी (इभेन्ट्स) को व्यवस्थापनमा सम्पन्न कार्यक्रममा पत्रकारिता, महिला सशक्तीकरण, डिजिटल मिडिया, कला तथा व्यवसाय क्षेत्रका अन्तर्राष्ट्रिय प्रतिभाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

आयोजकका अनुसार, स्वास्थ्य सेवा र डायग्नोस्टिक्स क्षेत्रमा उनले पुर्‍याएको विशिष्ट योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो। विश्व कीर्तिमान प्राप्त गरेपछि चौहानले यस उपलब्धिलाई व्यक्तिगत प्रयास मात्र नभई सम्पूर्ण नेपाली युवा उद्यमीहरूको प्रेरणाका रूपमा लिएको बताएका छन्।

“यो सम्मान मेरो एक्लो प्रयासको परिणाम होइन। यो मेरो परिवार, टिम, शुभेच्छुक तथा सम्पूर्ण नेपालीहरूको माया, विश्वास र आशीर्वादको जीत हो,” उनले भने।

ताप्लेजुङबाट काठमाडौँ आएका चौहान सामाजिक कार्य र उद्यमशीलतासँगै राजनीतिमा पनि सक्रिय छन्। साथै, उनी कला क्षेत्रमा समेत संलग्न छन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली युवाको क्षमता उजागर भएको उल्लेख गर्दै उनले यस उपलब्धिले आफूलाई थप जिम्मेवार बनाएको र आगामी दिनमा अझ ठूलो लक्ष्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय