
काठमाडौं । काठमाडौंको मनोहरा नदी किनारमा सुकुम्वासी नागरिकको व्यवस्थापनका लागि खटिएको प्रहरी टोलीमाथि आक्रमण भएपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्की स्वयं फिल्डमा पुगेका छन्।
शनिबार थापाथली र गैरीगाउँस्थित बस्ती व्यवस्थापनपछि मनोहरा खोला किनारका अतिक्रमित संरचना हटाउन पुगेको प्रहरी टोलीमाथि स्थानीयले ढुङ्गामुढा गरेका थिए। उक्त आक्रमणबाट करिब एक दर्जन प्रहरी घाइते भएका छन्। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले कुनै प्रतिकार नगरी पछि हटेको थियो।

आइतबार बिहानैदेखि नेपाल प्रहरी पुनः उक्त क्षेत्रमा परिचालन भई अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिइरहेको छ।
स्थिति पुनः तनावग्रस्त हुने संकेत देखिएपछि सुरक्षाकर्मीको मनोबल उच्च राख्न तथा स्थानीयसँग समन्वय प्रभावकारी बनाउन आईजीपी कार्की स्वयं मनोहरा क्षेत्रमा पुगेर स्थलगत अनुगमन गरेका हुन्।
उनले फिल्डमै सुरक्षाकर्मीलाई मानवीय संवेदनशीलता कायम राख्दै सौहार्दपूर्ण वातावरणमा काम गर्न निर्देशन दिएका छन्। साथै, स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै समस्या समाधानका लागि सहकार्य गर्न र प्रहरीलाई सहयोग गर्न आग्रह गरेका छन्।
प्रहरी नेतृत्व नै फिल्डमा उपस्थित भएपछि सुरक्षा व्यवस्थापन थप सुदृढ भएको तथा अतिक्रमण हटाउने कार्य अझ व्यवस्थित र समन्वयात्मक ढंगले अघि बढेको देखिएको छ।



