
काठमाडौं — उपत्यकाको ट्राफिक व्यवस्थापन कडाइतर्फ उन्मुख हुँदै गएको संकेतका रूपमा बितेका २४ घण्टाको तथ्यांक सार्वजनिक भएको छ। यस अवधिमा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ६९२ जना चालक कारबाहीमा परेका छन्। सो कारबाहीबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व संकलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार विभिन्न प्रकृतिका उल्लङ्घनमा संलग्न चालकहरूलाई नियन्त्रणमा लिँदै कारबाही गरिएको हो। मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९१ जना, यान्त्रिक अवस्था ठीक नभएका ६३ सवारी साधन, ट्राफिक संकेत उल्लङ्घन गर्ने २२४ र तीव्र गतिमा सवारी साधन चलाउने १३२ जनालाई कारबाही गरिएको छ।

त्यसैगरी, लेन अनुशासन पालना नगर्ने २३७, सार्वजनिक सवारी साधनका ढोका बन्द नगरी सञ्चालन गर्ने ४७, निषेधित क्षेत्रमा हर्न बजाउने ७८, तोकिएको स्थानबाहेक यात्रु चढाउने–ओराल्ने ४० तथा अन्य विविध ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७८० जनालाई पनि कारबाहीको दायरामा ल्याइएको कार्यालयले जनाएको छ।
पछिल्लो समय ट्राफिक नियमको कडाइ, नियमित चेकिङ, प्रविधिको प्रयोग तथा जनचेतनामूलक अभियानलाई सँगसँगै अघि बढाइएकाले उल्लङ्घनका घटनामा नियन्त्रण आउने अपेक्षा गरिएको छ। सडक सुरक्षालाई प्राथमिकतामा राख्दै ट्राफिक प्रहरीले ‘कारबाहीसँगै सचेतना’को रणनीति अपनाएको देखिन्छ।
उपत्यका ट्राफिक प्रहरीको नेतृत्वमा नवराज अधिकारी आएपछि ट्राफिक व्यवस्थापनमा देखिएको सक्रियता र सुधारले सर्वसाधारणमा पनि सकारात्मक सन्देश प्रवाह गरेको छ। चोक–चोकमा बढाइएको निगरानी, सवारी व्यवस्थापनमा कडाइ तथा नियम उल्लङ्घनप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिएकाले उपत्यकाको ट्राफिक प्रणाली क्रमशः व्यवस्थित बन्दै गएको देखिन्छ।



