
जनकपुरधाम। मधेश प्रदेश प्रहरी संगठनभित्र पछिल्लो घटनाक्रमले नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ। आज मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोबिन्द थपलियाकै कार्यकक्षमा एक प्रहरी जवानले आत्महत्या प्रयास गर्नु घटनाक्रमको सबैभन्दा संवेदनशील संकेत बनेको छ।
सुरक्षा स्रोतका अनुसार प्रहरी जवान रोशन यादवले डीआईजीकै अगाडि आफ्नो हात काट्ने प्रयास गरेका थिए। घटनास्थलमै रहेका एक इन्स्पेक्टरले तत्काल हस्तक्षेप गर्दै उनलाई जोगाएका थिए। यस घटनाले संगठनभित्रको मनोबल र आन्तरिक अवस्था कति जटिल बनेको छ भन्ने स्पष्ट देखाएको छ।

यता, डीआईजी थपलियाको नाम जोडेर व्यापारीहरूसँग रकम असुली गरिएको अडियो सार्वजनिक भएपछि प्रहरी संगठनभित्रको विवाद झन् चर्किएको छ। उक्त अडियो प्रकरणले प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबीचको सम्बन्धमा समेत दरार सिर्जना गरेको बताइन्छ।
प्रदेश कार्यालयबाट हुने भनिएको अनावश्यक हस्तक्षेप र दबाबका कारण धनुषाका प्रहरी प्रमुख एसपी रुगम कुवर अस्पताल भर्ना हुनुपरेको छ। यसले नेतृत्व तहबाट समन्वय र सन्तुलन कायम गर्न नसकिएको संकेत गर्छ।
त्यस्तै, तस्करसँग साँठगाँठ गरी रकम उठाएको आरोप लागेका वरिष्ठ सई गोपाल थापा मगर र सई जयलाल यादवलाई प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) तानिएको छ। यी घटनाहरूले संगठनभित्र अनुशासन र नियन्त्रण कमजोर बन्दै गएको देखाउँछ।
यति मात्र होइन, डिआईजीको नेतृत्वकै प्रभावमा सानोदेखि ठूला दर्जासम्मका प्रहरी कर्मचारी प्रभावित भएको अवस्थामा ड्युटी सकेर घर फर्किँदै गरेका त्यहीँ कार्यरत एक हलदारसमेत सवारी दुर्घटनामा परी हाल पुलिस अस्पतालमा उपचाररत रहेको जानकारी प्राप्त भएको छ।
समग्रमा हेर्दा, एकातिर नेतृत्वसँग जोडिएको विवादित अडियो, अर्कोतर्फ कार्यकक्षमै आत्महत्या प्रयास जस्तो गम्भीर घटना, साथै तल्लो तहसम्म फैलिएको आर्थिक अनियमितताको आरोपले मधेश प्रदेश प्रहरीको नेतृत्व प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ।
यदि समयमै पारदर्शी छानबिन, स्पष्ट कमाण्ड र आन्तरिक सुधारका कदमहरू अघि बढाइएन भने संगठनभित्रको विश्वास संकट अझ गहिरिने देखिन्छ।



