
काठमाडौँ । मधेस प्रदेश प्रहरीभित्र पछिल्ला दिनहरूमा देखिएको आन्तरिक हलचल अझै तीव्र बन्दै गएको छ। विभिन्न तहका प्रहरी कर्मचारीमाथि छानबिन, सरुवा र कारबाहीका कदमहरू एकपछि अर्को गर्दै अघि बढ्दा संगठनभित्र नयाँ तरंग उत्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ सई सागर शमशेर जवराको निलम्बन सिफारिस भने तत्कालका लागि रोकिएको छ। प्रहरी प्रधान कार्यालयले उक्त निर्णय अघि बढाउनु अघि थप अध्ययन आवश्यक ठहर गर्दै प्रक्रिया हाललाई स्थगित गरेको स्रोतको भनाइ छ।

यता, मधेस प्रदेशमै ‘घुमुवा’ भूमिकामा रहेका वरिष्ठ सई गोपाल थापा मगर र सई जयलाल यादवलाई भने केन्द्रमा बोलाइएको छ। प्रहरी प्रधान कार्यालयले उनीहरूलाई काठमाडौँस्थित हेडक्वार्टरमा तानेर कार्यशैली र संलग्न गतिविधिबारे विस्तृत अनुसन्धान गर्ने तयारी गरेको बुझिएको छ।
पछिल्लो समय मधेस प्रदेश प्रहरीभित्र भइरहेका यस्ता निर्णयहरूले आन्तरिक अनुशासन, जिम्मेवारी वहन र कार्यसम्पादन मूल्यांकन प्रणालीबारे बहस चर्किँदै गएको छ। संगठनलाई थप पारदर्शी र उत्तरदायी बनाउने प्रयासका रूपमा हेरिए पनि यसले संरचनागत चुनौतीहरू उजागर गरेको विश्लेषण हुन थालेको छ।
प्रहरी स्रोतका अनुसार जारी छानबिनको निष्कर्षपछि थप कारबाही वा नीतिगत सुधारका कदमहरू समेत अगाडि बढ्न सक्ने संकेत देखिएको छ।



