
काठमाडौँ । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियासँग जोडिएको तस्करी विवादले नयाँ मोड लिएको छ। सोही प्रकरणमा स्पष्टीकरणका लागि बोलाइएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रुगमबहादुर कुँवर आइतबार कार्यस्थलमै अचेत भएर ढलेका खवर बाहिरिएको छ । प्रदेश प्रहरी कार्यालयमा भएको सोधपुछका क्रममा अत्यधिक मानसिक दबाबका कारण उनको स्वास्थ्य बिग्रिएको स्रोतको दाबी छ।
घटनापछि सोमबार घरमै आराम गरेका कुँवरको अवस्था अपेक्षाअनुसार सुधार नभएपछि मंगलबारदेखि सात दिनका लागि बिदा स्वीकृत गरिएको जिल्ला प्रहरी स्रोतले जनाएको छ।

यस प्रकरणमा डीआईजी थपलियाले गुट्खा तस्करीसँग जोडिएको आर्थिक कारोबारको आरोप वरिष्ठ सई सागरशमशेर राणामाथि सार्न खोजेको बताइन्छ। सोही विषयमा एसपी कुँवरसँग दोस्रोपटक स्पष्टीकरण मागिएको थियो। यसअघि एक व्यापारीसँगको अडियो संवाद सार्वजनिक भएपछि प्रकरण थप चर्किएको हो, जसमा डीआईजी निकट आर्थिक संकलन भएको संकेत गरिएको थियो। अडियो सार्वजनिक भएसँगै वरिष्ठ सई राणालाई निलम्बनको सिफारिस गरिएको छ।
फेरी यता मधेश प्रदेश प्रहरी कार्यालयका आधिकारिक प्रवक्ता एसएसपी कमल थापा भए पनि उक्त संवेदनशील प्रकरणमा सहप्रवक्तामार्फत विज्ञप्ति जारी गरिएको छ। स्वयं एसएसपी थापाले यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्। सामान्यतया यस्ता विषयमा प्रवक्ताबाटै आधिकारिक धारणा सार्वजनिक हुने प्रचलन रहँदै आएको अवस्थामा सहप्रवक्ताबाट विज्ञप्ति आउनुलाई असामान्य रूपमा हेरिएको छ।
यस घटनाले प्रहरी संगठनभित्र समन्वय अभावको संकेत गरेको भन्दै सरोकारवालाहरूले प्रश्न उठाएका छन्। प्रहरी वृत्तभित्र पनि यस विषयले व्यापक चासो र चर्को बहस सिर्जना गरेको छ।
विवादको जरो भने धनुषाको भारतीय सीमावर्ती नाकाबाट चिनियाँ ‘फुजी’ जातको स्याउ भित्र्याउने प्रयाससँग जोडिएको देखिन्छ। डीआईजी निकट व्यापारी समूहले ल्याउन खोजेको उक्त सामान एसपी कुँवरले रोकेपछि दुवै पक्षबीच सम्बन्ध चिसिएको थियो। त्यसपछि थपलियाले कुँवरलाई आफ्नै कार्यालयमा बोलाएर कडा शब्दमा गाली गरेको आरोपसमेत उठेको छ।
त्यसयता जिल्ला प्रहरी र प्रदेशबाट खटिएका टोलीबीच समन्वय कमजोर बन्दै गएको बताइन्छ। जिल्लाले रोकेको तस्करी प्रदेश तहबाट खुलाउन खोजिएको भन्दै आन्तरिक तनाव चुलिँदै गएको स्रोतको भनाइ छ। साथै, उच्च प्रहरी नेतृत्वसँग निकट व्यक्तिहरूको समेत अप्रत्यक्ष प्रभाव रहेको चर्चा प्रहरी वृत्तमै हुने गरेको छ।
उता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेशबहादुर बमले भने एसपी कुँवर घरायसी कारणले बिदामा बसेको जानकारी दिएका छन्। “उहाँ आजदेखि बिदामा हुनुहुन्छ, थप विवरण मेरो जानकारीमा छैन,” उनले भने।
पारिवारिक स्रोतका अनुसार कुँवर पहिलेदेखि नै उच्च रक्तचापका बिरामी हुन्। पछिल्लो मानसिक तनावका कारण औषधिले समेत काम नगर्ने अवस्था सिर्जना भएको र त्यसकै प्रभावले उनी कार्यस्थलमै अस्वस्थ भएको बताइएको छ।



