काठमाडौं । काठमाडौँको बल्खुस्थित कुमारी क्लब नजिक गरिएको सवारी जाँच (लापसे चेकिङ)का क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने दुई जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

आज मिति २०८२ चैत २८ गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो तथा ट्राफिक प्रहरी प्रभाग बल्खुको संयुक्त टोलीले गरेको जाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा एक जना सार्वजनिक यात्रुवाहक हाईस चालक र एक जना विद्युतीय माइक्रोबस (EV) चालक रहेका छन्। नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीको सहयोगमा गरिएको परीक्षणमा उनीहरूले लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ।

प्रहरीका अनुसार यात्रुवाहक जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले लागुपदार्थ सेवन गर्नु गम्भीर तथा दण्डनीय अपराध हो। यस्तो कार्यले चालकसँगै यात्रुहरूको जीवन पनि उच्च जोखिममा पर्ने भएकाले सचेत रहन सबैमा आग्रह गरिएको छ।

यदि कुनै सवारी साधनका चालकले लागुपदार्थ वा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुहरूले नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा तुरुन्त जानकारी गराउन पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय