
काठमाण्डौं — गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गोविन्द पन्थीले ले प्रतिनिधिसभा बैठकको शून्य समयमा आफ्नो निर्वाचन क्षेत्रका विविध समस्याहरू उठाएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्थीले गुल्मीका नागरिकले भोगिरहेका बाँदर तथा बँदेलको समस्या, बढ्दो बेरोजगारी, शिक्षा र स्वास्थ्य सेवाको सुधार, रोजगारी सिर्जना, वैदेशिक रोजगारीमा अलपत्र परेका व्यक्तिहरूको उद्धारका लागि पहल तथा खानेपानीको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराए। उनले अलपत्र तथा अधुरा रहेका विकास आयोजनाहरूलाई शीघ्र सम्पन्न गर्न आवश्यक पहल गर्न पनि जोड दिएका थिए।

त्यस्तै, उनले मुलुकमा सुशासन प्रवर्द्धनका लागि अत्यधिक प्रक्रियामुखी कानुन, प्रशासनिक ढिलासुस्ती तथा दण्डहीनताको अन्त्य गर्नुपर्नेमा विशेष जोड दिएका छन्। सांसद पन्थीले प्रभावकारी सेवा प्रवाह र जनतामुखी शासन प्रणाली स्थापना गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरे।



