काठमाडौँ — प्रधानमन्त्री बालेन शाहले सोमबार सिंहदरबारमा लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सांसदहरूसँग करिब दुई घण्टा लामो छलफल गरेका छन्।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चलेको कार्यक्रममा सांसदहरूले विकास, सुशासन, पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा सामाजिक सद्भावको विषयमा प्रधानमन्त्रीसँग आफ्ना सुझावहरू राखेका थिए। उनीहरूले यी क्षेत्रका समस्याहरू समाधान गर्न तत्काल पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

गुल्मी क्षेत्र नं. २ बाट निर्वाचित माननीय गोविन्द पन्थीले आफ्नो क्षेत्रका प्रमुख समस्याहरू लिखित रूपमा प्रधानमन्त्रीसमक्ष पेश गरेका छन्। समय अभावका कारण उनले आफ्नो धारणा करिब एक मिनेटमै संक्षेपमा राख्नुपरे पनि, प्रधानमन्त्रीले करिब दुई घण्टासम्म सबै सांसदहरूको कुरा धैर्यतापूर्वक सुनेको उनको भनाइ छ।

पन्थीका अनुसार उनले आफ्नो प्रस्तुतिमा बाँदर तथा बँदेलको समस्या, शिक्षा र स्वास्थ्य सेवा सुधार, रोजगारी सिर्जना, खानेपानी अभाव, अलपत्र तथा अधुरा आयोजनाहरूको शीघ्र सम्पन्नता लगायतका विषय उठाएका थिए। साथै, सुशासन प्रवर्द्धनका लागि अत्यधिक प्रक्रियामुखी कानुन, प्रशासनिक ढिलासुस्ती र दण्डहीनताको अन्त्य गर्नुपर्नेमा विशेष जोड दिएका थिए।

उनले प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रशंसा व्यक्त गर्दै “धेरै सुन्ने, कम बोल्ने र काममार्फत परिणाम दिने शैली अनुकरणीय रहेको” बताएका छन्। आफ्ना कुरा ध्यानपूर्वक सुनेकोमा उनले प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय