काठमाडौं । नेपाल प्रहरी अस्पतालको ४२औं वार्षिकोत्सव प्रहरी महानिरीक्षक (आईजीपी) दान कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रमका अवसरमा आईजीपी कार्कीले अस्पतालमा आउने सेवाग्राहीको सेवा र सुविधा विस्तार गर्ने उद्देश्यले नवनिर्मित Intrauterine Insemination (IUI) तथा In Vitro Fertilization (IVF) ल्याबको उद्घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन गर्नुभयो।

त्यसैगरी, उहाँले अस्पतालको मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई Electroconvulsive Therapy (ECT) मेसिन हस्तान्तरण गर्नुभयो। साथै, वर्षभरिका गतिविधि, उपलब्धि, सेवा प्रवाह तथा स्वास्थ्यसम्बन्धी लेखहरू समेटिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण–२०८२’ को लोकार्पण समेत गर्नुभयो।

सो अवसरमा विशेषज्ञ चिकित्सकहरू तथा अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरूलाई कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कार्कीले अस्पतालको क्रमिक विकास र विस्तारमा अग्रजहरूले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले प्रहरी कर्मचारी तथा तिनका परिवारजनले पाउने स्वास्थ्य सेवा र सुविधाको गुणस्तर संगठनको मनोबलसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै सेवाग्राहीमैत्री र आत्मीय सेवा प्रवाहमा जोड दिनुभयो।

नयाँ सरकारको प्राथमिकतामा रहेको सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई आत्मसात् गर्दै अस्पतालले पनि आफ्नो सेवा प्रणालीलाई अझ सुदृढ, व्यवस्थित र उत्तरदायी बनाउनुपर्ने उहाँले बताउनुभयो।

प्रहरीको दैनिक कार्य स्वभावतः जोखिमपूर्ण र मानसिक–शारीरिक रूपमा चुनौतीपूर्ण हुने भएकाले स्वास्थ्यसम्बन्धी सबै गुनासाहरूको उचित सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। विगतका कमजोरी सुधार गर्दै आगामी दिनमा सेवा प्रभावकारिता र संस्थागत विकासका लागि ठोस योजना बनाइ अगाडि बढ्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो।

यसै अवसरमा नेपाल प्रहरी श्रीमती संघकी  अध्यक्ष नविना कार्कीले अस्पताललाई टिभी र ईसीजी मेसिन हस्तान्तरण गर्नुभयो। साथै संघका पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय