
काठमाडौँ । नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी का प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ईश्वर कार्की ले मातहतका निकायलाई स्पष्ट निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतका वृत्त, प्रभाग र बिटका प्रमुखहरूलाई निर्देशन दिँदै एआईजी कार्कीले नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्दै गैर–कानुनी क्रियाकलापलाई कडाइका साथ कानुनी दायरामा ल्याउन जोड दिएका हुन् ।

मंगलबार परिसर भद्रकालीको निरीक्षणका क्रममा उनले काठमाडौँ जिल्लामा भीआईपी तथा भीभीआईपीहरूको बसोबास र महत्वपूर्ण संरचना (भाइटल इन्स्टलेसन) रहेको उल्लेख गर्दै संवेदनशीलता र सतर्कता अपनाएर काम गर्न निर्देशन दिए ।
त्यसैगरी, भविष्यका चुनौतीलाई मध्यनजर गर्दै सूचना संकलनलाई प्रभावकारी बनाउने, प्राप्त सूचनाको प्रविधिसँग संयोजन गरी प्रहरी परिचालनलाई थप सुदृढ बनाउने र समग्र काठमाडौं उपत्यका लाई सुरक्षित बनाउनेतर्फ ध्यान दिन समेत उनले निर्देशन दिएका छन् ।



