
दिपक राज जोशी — काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” आज ठमेलस्थित सञ्चयकोष भवन अगाडि विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्य तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको विशेष आतिथ्यमा समापन समारोह सम्पन्न भएको हो। 

कार्यक्रममा ख्यातिप्राप्त कलाकार, बालकलाकार, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीका टोलीले सांस्कृतिक तथा सचेतनामूलक प्रस्तुति दिएका थिए।

समापन कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरीउपरीक्षक (एसएसपी) नवराज अधिकारीले ट्राफिक सप्ताहका गतिविधि र उपलब्धि बारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नुभयो।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार मनोज गजुरेल, गायक जोन चाम्लिङ राई, थानेश्वर गौतम, बालचन्द्र बराल, गायिका आस्था राउत, बबिता बाँनिया ‘जेरी’, प्र्याङ्क स्टार एलिस राई, कलाकार रोमा न्यौपानेलगायत कलाकार तथा नेपाल प्रहरी र ट्राफिक प्रहरीका कर्मचारीको प्रस्तुति रहेको थियो।
दुर्घटना न्यूनीकरणमा जनचेतनामै जोड
ट्राफिक सचेतनाको कमी र लापरवाहीका कारण हुने सवारी दुर्घटना रोक्ने उद्देश्यसहित पुस २६गतेदेखि सुरु गरिएको यस अभियानबाट ३ लाख ८० हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वितभएको ट्राफिक प्रहरीले जनाएको छ।
सप्ताहभर उपत्यकाका विभिन्न स्थानमा र्याली, विद्यालय–कलेजमा सचेतना कक्षा, चालकसँगचिया कार्यक्रम, निःशुल्क आँखा परीक्षण, यान्त्रिक जाँच, जेब्रा क्रसिङ तथा रोड–मार्किङ व्यवस्थापन, दीप प्रज्वलन तथा स्वास्थ्य शिविरजस्ता कार्यक्रम सञ्चालन गरिएका थिए।
अभियानअन्तर्गत ५० हजारभन्दा बढी पर्चा–पम्प्लेट वितरण गरिएको थियो। पुस २५ गते आयोजित रक्तदान कार्यक्रममा प्रहरी र नागरिक गरी १३९ जनाले रक्तदान गरेका थिए भनेपहिलो दिनको र्यालीमा करिब १० हजारको सहभागिता रहेको थियो।
चुनौतीपूर्ण परिस्थितिमा पनि नागरिक–केन्द्रित अभियान
हालैको सामाजिक परिस्थितिबाट प्रहरी संरचनामा क्षति पुगेको अवस्थाबीच पनि ट्राफिक प्रहरीले आफ्नो मूल दायित्वबाट विचलित नभई सीमित स्रोतसाधनमा नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै ट्राफिक सप्ताह सञ्चालन गरेको जनाएको छ।
यस अभियानलाई औपचारिकतामा सीमित नराखी नागरिकको दैनन्दिन जीवनसँग प्रत्यक्ष जोडिएको सामाजिक अभियानका रूपमा अघि बढाइएको ट्राफिक प्रहरीको भनाइ छ।
तीव्र गति, मादक पदार्थ सेवन, ट्राफिक नियम उल्लङ्घन, मोबाइल प्रयोग र पैदलयात्रीकोअसावधानी सवारी दुर्घटनाका प्रमुख कारण रहेका छन्। ट्राफिक सप्ताहका कार्यक्रम यिनैजोखिम कारकलाई लक्षित गरी डिजाइन गरिएको थियो।
एसएसपी नवराज अधिकारीको सन्देश
एसएसपी नवराज अधिकारीका अनुसार दुर्घटना नियन्त्रणका लागि कारबाही मात्र पर्याप्त हुँदैन, नागरिकको सोच र व्यवहार परिवर्तन अपरिहार्य छ।
उहाँले भन्नुभयो —
“सवारी दुर्घटना न्यूनीकरणका लागि चेतना, जिम्मेवारीबोध र नागरिक–प्रहरी सहकार्य अत्यावश्यक छ। ट्राफिक सप्ताह यही उद्देश्यलाई केन्द्रमा राखेर सञ्चालन गरिएको हो।”
उहाँले थप्नुभयो —
“उपत्यकामा शिक्षित वर्गको बाहुल्य छ, तर सडक अनुशासन पालना गराउन अझै चुनौती देखिन्छ।”
नेतृत्व र सहकार्यको सफल संयोजन
यस अभियानलाई प्रभावकारी बनाउन एसएसपी नवराज अधिकारीको दूरदर्शी नेतृत्व र ट्राफिक प्रहरी प्रवक्ता एसपी नरेश सुवेदीको फिल्डस्तरको सक्रिय समन्वय महत्वपूर्ण आधार बनेको छ।
सकारात्मक प्रतिक्रिया र दीर्घकालीन अपेक्षा
सचेतनामूलक, सांस्कृतिक तथा स्वास्थ्य–मैत्री कार्यक्रमले ट्राफिक प्रहरी र नागरिकबीच विश्वासबढाएको सरोकारवालाहरू बताउँछन्। दण्डभन्दा चेतनालाई प्राथमिकता दिने दृष्टिकोणले नागरिकमैत्री ट्राफिक संस्कृतिको विकासमा नयाँ आधार तयार गरेको छ।
ट्राफिक सप्ताह २०८२ ले दुर्घटना न्यूनीकरण कानुनी कारबाही मात्र नभई नागरिक–प्रहरी सहकार्य र व्यवहार परिवर्तनबाट सम्भव हुने स्पष्ट सन्देश दिएको छ।
अभियान समाप्त भए पनि यसको प्रभाव वर्षभर कायम रहने विश्वास गरिएको छ, जसले काठमाडौँ उपत्यकाका सडकलाई अझ सुरक्षित, व्यवस्थित र अनुशासित बनाउने अपेक्षा गरिएको छ।
सम्बन्धित कार्यक्रमको केहि फोटोहरू –





