
वीरगञ्ज । नेपाल प्रहरी भित्र कर्तव्यनिष्ठ, सक्रिय र परिणाममुखी प्रहरी अफिसरको रूपमा परिचित बन्दै गएका प्रहरी नायब निरीक्षक (सई) सुभाष यादवले सर्लाही जिल्लामा रहँदा देखाएको कार्यसम्पादनले उनलाई एक काबिल प्रहरी अफिसरको रूपमा स्थापित गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाही तथा इलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीमा २०८१ सालदेखि २०८२ मंसिरसम्मको कार्यकालमा उनले अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, सीमापार अपराध नियन्त्रण, लागूऔषध तथा तस्करीविरुद्धको अभियान, सामुदायिक सुरक्षा र संवेदनशील अवस्थाको व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गरेका छन्।


उनको व्यावसायिक क्षमता, अनुसन्धान दक्षता र नेतृत्व क्षमताको कदरस्वरूप सई यादव ६९औँ प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट “उत्कृष्ट अनुसन्धानकर्ता” पुरस्कारबाट सम्मानित भएका छन्। त्यसैगरी, कार्यकालको १० महिनामै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट २०८२ साल असार महिनाको “Police of the Month” अवार्ड प्राप्त गर्नु उनको कार्यक्षमताको ठोस प्रमाण हो।

जघन्य अपराध अनुसन्धानमा निर्णायक भूमिका
विभागीय नीति, निर्देशन तथा तालुक कार्यालयको आदेशअनुसार सम्पादन गरिएका उनका कार्यहरू सार्वजनिक भइसकेका छन्। गम्भीर तथा जघन्य अपराधमा सूचना संकलन, अनुसन्धान र अभियुक्त पक्राउमा सई यादवको भूमिका प्रभावकारी देखिएको छ। उनको कार्यकालमै पूर्व सांसद रामचन्द्र राय हत्या प्रकरणमा सूचना संकलन गरी फरार प्रतिवादी पक्राउ गरिएको थियो। सोही हत्याकाण्डको छानबिन तथा अनुसन्धान समितिमा सदस्यका रूपमा रही उनले अनुसन्धानलाई निष्कर्षमा पुर्याउन महत्वपूर्ण योगदान दिएका थिए।
शान्ति सुरक्षा र संवेदनशील कार्यक्रम व्यवस्थापन
२०८१ सालमा मंगलवामा गणेश मूर्ति विसर्जनका क्रममा ढुंगा प्रहार गरी शान्ति भंग गर्न खोज्ने एक जनालाई पक्राउ गरी अवस्था नियन्त्रणमा लिइएको थियो। मेला, पर्व तथा मूर्ति विसर्जनजस्ता संवेदनशील कार्यक्रममा पूर्वसूचना संकलन र सुरक्षा व्यवस्थापनमार्फत शान्तिपूर्ण वातावरण कायम राख्न उनले सक्रिय भूमिका खेलेका छन्।
सीमापार अपराध नियन्त्रणमा उत्कृष्ट समन्वय
सीमापार अपराध नियन्त्रणतर्फ सई यादवको कार्य विशेष रूपमा प्रशंसनीय देखिन्छ। भारतीय सुरक्षाकर्मीहरूसँग समन्वय गरी २८ जना बालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको थियो। भारत, बिहारको सोनबरसा थानासँगको समन्वयमा २०८१/११/२७ गते नक्कली रु. १,००० दरका १७६ थान नोटसहित पाँच जनालाई पक्राउ गरिएको थियो।
त्यसैगरी, भारतको बिहारस्थित बसतपुरमा बन्धक बनाइएकी १८ वर्षीया शेख जयनसलाई सूचना प्राप्त भएको चार घण्टाभित्र सकुशल उद्धार गर्नु सई यादवको छरितो कार्यशैलीको उदाहरण बनेको छ। घाँटी काटी हत्या गरी फरार रहेका एक भारतीय नागरिक तथा सर्लाही हरिपुर्वाका शिक्षक रामपुकार यादव हत्या प्रकरणका मुख्य फरार अभियुक्त पक्राउमा पनि उनले भारतीय प्रहरीसँग प्रभावकारी समन्वय गरेका थिए।

लागूऔषध र अवैध हतियारविरुद्ध कठोर अभियान
लागूऔषधविरुद्धको अभियानअन्तर्गत २०८१/०७/०९ मा १० केजी गाँजासहित दुई जना पक्राउ परेका थिए। २०८१/११/०५ मा Winrex १०० एमएल लागूऔषध बिक्री–वितरण गर्दै गरेका श्रीमान–श्रीमती पक्राउ परे। यस्तै, २०८२/१२/२० गते घरमै पुडिया बनाएर बिक्री गरिरहेको अवस्थामा १६ केजी गाँजासहित बागमती नगरपालिका–१२ का एक व्यक्ति पक्राउ परेका थिए।
२०८१/०७/२० मा घरेलु नकटुवा पेस्तोल, १० राउन्ड गोली र नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ गर्नु सई यादवको साहसी र सतर्क प्रहरी अभ्यासको उदाहरण हो ।
फरार प्रतिवादी पक्राउ र फैसला कार्यान्वयन
हिंसात्मक तथा जघन्य अपराधमा संलग्न व्यक्तिहरू—१२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार, श्रीमतीमाथि हसियाले प्रहार, छोरीमाथि डाबियाले आक्रमण, अपहरण तथा शरीर बन्धक मुद्दाका प्रतिवादीहरू पक्राउ गरिएका छन्। फैसला कार्यान्वयनतर्फ विभिन्न मुद्दाका १८२ जना फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याइनु उनको कार्यकालको अर्को उल्लेखनीय उपलब्धि हो।
तस्करी नियन्त्रण र आर्थिक अपराधविरुद्ध कडा कदम
उनको सक्रियतामा अन्दाजी रु. ६ करोड ४५ लाख ४४ हजार ६४५ बराबरको कबाड, लसुन, इलेक्ट्रोनिक्स, हार्डवेयर पार्ट्स, रबर, सुपारी, औषधि, कपडा तथा मेसिनसहित १५ वटा ट्रक बरामद गरी पथलैया भन्सार पठाइएको थियो। परालको भुसमा लुकाइ ल्याइएको ८२० केजी काजु (अन्दाजी मूल्य रु. १२ लाख ३० हजार) तथा करिब रु. २५ लाख मूल्यको ट्रकसहित चालकलाई नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाइएको थियो।
जनमैत्री प्रहरी र सामुदायिक सुरक्षा
सामुदायिक सुरक्षातर्फ, सवारी दुर्घटनापछि फरार भएको कार वर्षौँपछि फेला पार्नु, कृषि प्रयोजनका ट्रान्सफर्मर फुटाएर तामाको तार चोरी गर्ने संगठित गिरोह पक्राउ गर्नु, पूर्व–पश्चिम राजमार्गमा दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन, दुर्घटनाका घाइतेको तत्काल उद्धार, बाढी–पहिरोको समयमा जनचेतना फैलाउने कार्यमा सई यादवको सक्रियता देखिएको छ।
महिला सेलमा कार्यरत रहँदा घरेलु हिंसा, हराएका बालबालिका तथा ठाडो उजुरीका घटनामा लैंगिक संवेदनशीलता अपनाउँदै १०० प्रतिशत सम्झौतामुखी समाधान निकाल्नु उनको जनमैत्री प्रहरी अभ्यासको प्रमाण हो।
सई सुभाष यादवको कार्यकालमा देखिएको परिणाममुखी नेतृत्व, जोखिम मोलेर गरिएको अनुसन्धान, सीमापार समन्वय र समुदायसँगको सहकार्यले कर्मैया क्षेत्रलाई तुलनात्मक रूपमा सुरक्षित बनाउँदै लगेको स्थानीयवासीको भनाइ छ। उनका कार्यहरूले नेपाल प्रहरीभित्र काबिल, इमानदार र जनउत्तरदायी प्रहरी अफिसरको स्पष्ट उदाहरण प्रस्तुत गरेको छ।



