खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा स्थानीयवासी र विभिन्न क्षेत्रका दाताबाट चन्दा संकलन गरी सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम सम्पन्न गरिएको छ।

प्रहरी चौकी सेवा क्षेत्रमा पर्ने स्थानीय नागरिक तथा शुभेच्छुकबाट रु १२ लाख ४४ हजार ४६६ संकलन गरी प्रहरी चौकी व्यवस्थापन समितिमार्फत १४ वटा सीसी क्यामेरा जडान, एक–एकवटा प्रतिक्षालय र गोलघर निर्माण, ५ वटा सडक सूचना बोर्ड तथा कार्यालय व्यवस्थापनसम्बन्धी विविध कार्य सम्पन्न गरिएको हो।

प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईका अनुसार, संकलित रकममध्ये रु १० लाख ७ हजार ४९७ खर्च भइसकेको छ भने रु २ लाख ११ हजार १११ रकम वडा नं १४ र १५ बाट आगामी आर्थिक वर्षको बजेटमार्फत आउने बाँकी रहेको छ। हाल समितिको खातामा रु २५ हजार ८५८ नगद रहेको जनाइएको छ।

यस प्रहरी चौकीको भवन स्थानीय जग्गामा आरसिसी पक्की संरचना निर्माण गरेर सञ्चालनमा ल्याइएको हो। कार्यालय व्यवस्थापनका लागि नगरपालिकाबाट सोफा सेट, चन्दा रकमबाट कार्पेट र पर्दा खरिद गरिएको छ भने स्थानीयको श्रमदानमार्फत कार्यालय भवन मर्मत गरिएको छ।

स्थानीय सहयोगमा सम्पन्न यस पहलले समुदाय–प्रहरी साझेदारीलाई अझै मजबुत बनाएको बताइएको छ। सुरक्षा सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यले गरिएको यो काम अन्य क्षेत्रका लागि पनि प्रेरणादायी बन्न सक्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय