
सुर्खेत — सुर्खेत प्रहरीले ५ किलोभन्दा बढी अफिमसहित एक जनालाई पक्राउ गरेको छ।
बुधबार भेरीगंगा नगरपालिका–१०, छिन्चुस्थित क्षेत्रबाट ५ किलो ४५० ग्राम अफिमसहित जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० का ४६ वर्षीय जयबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधिरराज शाहीका अनुसार गोप्य सूचनाका आधारमा निगरानी र अनुसन्धानपछि उक्त परिमाणको अफिम बरामद गरिएको हो। ओसारपसारमा संलग्न व्यक्ति पक्राउ परे पनि मुख्य कारोबारी भने फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरीसँगको प्रारम्भिक बयानमा बस्नेतले अफिम आफैँ उत्पादन र बिक्री गर्दै आएको स्वीकार गरेका छन्। बरामद अफिमको प्रारम्भिक मूल्य नेपाली बजारमा ८ लाख ८६ हजार ४ सय रुपैयाँ रहेको प्रहरीको भनाइ छ।
पक्राउ परेका बस्नेतले भारतमा पुर्याउन सके उक्त अफिमको मूल्य ५ करोड रुपैयाँसम्म पुग्ने दाबी गरेका छन्। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



