
पर्सा । पर्सामा सिमेन्टको बोराभित्र लुकाएर ओसारपसार भइरहेको २०७ किलो गाँजा सहित एक जना चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको संयुक्त प्रहरी टोलीले विन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा सवारी चेकजाँचका क्रममा हेटौंडा निवासी ४८ वर्षीय कृष्ण लामालाई पक्राउ गरेको हो।

प्रहरीले लामाले चलाइरहेको प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप जाँच गर्दा सिमेन्टको बोराभित्र लुकाएर राखिएको २०७ किलो गाँजा बरामद भएको जनाएको छ।
बरामद गाँजा, पिकअप र चालकलाई नियन्त्रणमा लिई लागूऔषध ओसारपसार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।




