
जनकपुरधाम — सिराहाको लहान नगरपालिका–२२ सलोखरीबाट पेस्तोल र म्यागेजिनसहित तीन जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चौकी सितापुरबाट नियमित चेकिङका लागि खटिएको टोलीले उनीहरूलाई ९ एमएमको पेस्तोलसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं डिएसपी रमेशबहादुर पालका अनुसार सुरक्षा जाँचका क्रममा स्थानीय २० वर्षीय सबरजित दासले लगाएको पाइन्टको दाहिने खल्तीबाट उक्त हतियार बरामद भएको हो।

घटनास्थलबाट सबरजितसँगै रहेका २० वर्षीय गुरुदेव दास र १९ वर्षीय सञ्जय दासलाई पनि प्रहरीले हिरासतमा लिएको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको प्रहरीले जनाएको छ।




