काठमाडौं, ८ साउन – ग्यास सिलिन्डर चोरीको घटनाको अनुसन्धानका क्रममा काठमाडौंको जोरपाटीस्थित एक डेरा कोठाबाट एसएलआर राइफलमा प्रयोग हुने ६ राउण्ड गोली बरामद भएको छ। घटनासँग सम्बन्धित आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१ नक्साल ज्यापुटोल स्थायी घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी टेलिकम नजिक बस्दै आएका ४३ वर्षीय विकास महर्जन रहेका छन्।

प्रहरीका अनुसार ग्यास सिलिन्डर चोरीमा संलग्न भएको आशंकाका आधारमा प्रहरी चौकी जोरपाटीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले महर्जन बस्दै आएको डेरा कोठामा खानतलासी गरेको थियो। तलासीका क्रममा कोठाभित्र लुकाएर राखिएको अवस्थामा एसएलआर राइफलमा प्रयोग हुने ६ राउण्ड गोली फेला परेको हो।

बरामद गरिएको गोलीसहित महर्जनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको प्रहरीले जनाएको छ। गोली कसरी र किन राखिएको थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनासँग सम्बन्धित अन्य व्यक्तिको संलग्नता, गोलीको स्रोत तथा यसको प्रयोगसम्बन्धी पक्षसमेत अनुसन्धानको दायरामा रहेको जनाएको छ। हाल घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय