लहान (सिरहा), ७ साउन। सिरहाको लहान नगरपालिका–३ स्थित हस्पिटल चोकमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको छ। बिहीबार भएको प्रहरी अपरेसनमा दुई जना गोली लागेर घाइते भएका छन् भने ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौंको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई पक्राउ गर्ने प्रयास गरेको थियो। पक्राउका क्रममा उनीहरूले प्रहरीमाथि प्रतिरोध गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको ब्यूरोले जनाएको छ।

गोली लागेर एक नेपाली र एक भारतीय नागरिक घाइते भएका छन्। उनीहरूको लहानस्थित राउ स्मारक अस्पतालमा उपचार भइरहेको छ। दुवैको अवस्था स्थिर रहेको प्रारम्भिक जानकारी भए पनि प्रहरीले उनीहरूको परिचय सार्वजनिक गरेको छैन।

घटनास्थलबाट पक्राउ परेका ६ जनामाथि लागूऔषध कारोबार र त्यससँग सम्बन्धित संगठित सञ्जालमा संलग्नताको आशंकामा अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेकाहरूको बयान, बरामद सामग्री तथा अन्य प्रमाणका आधारमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीले अपरेसनका क्रममा बरामद भएका लागूऔषध र अन्य सामग्रीको परीक्षण जारी रहेको जनाएको छ। साथै, घटनाको विस्तृत विवरण, घाइते तथा पक्राउ परेकाहरूको पहिचान र अपरेसनको सम्पूर्ण विवरण अनुसन्धान सम्पन्न भएपछि सार्वजनिक गरिने लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय