
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले धितोपत्रसम्बन्धी कसुरमा फरार रहेका मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ।
सीआईबीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अनुपमशमशेर राणाका अनुसार रिमाललाई बिहीबार काठमाडौंको सिफल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार रिमालविरुद्ध बिमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता भएको छ। उनी उक्त प्रकरणमा फरार प्रतिवादीका रूपमा खोजी सूचीमा रहेका थिए।
यसै मुद्दामा संलग्न रहेका व्यवसायी दीपक भट्ट भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा हाल न्यायिक हिरासतमा छन्। अनुसन्धानका क्रममा भट्टसहित केही व्यक्तिले कानुनी प्रक्रिया विपरीत अवैध रूपमा सेयर स्वामित्व हस्तान्तरण (ट्रान्सफर) गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
सीआईबीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।




