
काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत (यूके) पठाइदिने प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा काठमाडौं महानगरपालिका–१७ निवासी ३२ वर्षीया पूजा शाहीलाई काठमाडौंको माइतीघर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शाहीले एक जना पीडितलाई आकर्षक तलब र रोजगारीको आश्वासन दिँदै यूके पठाइदिने भन्दै १७ लाख रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि उनले वैदेशिक रोजगारीमा नपठाएको र सम्पर्कविहीन बनेपछि पीडितले उजुरी दिएका थिए।
उक्त उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले शाहीलाई पक्राउ गरेको हो। पक्राउ परेकी शाहीमाथि वैदेशिक रोजगारी ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




