
काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरो (एनसीबी), कोटेश्वरले सिलिकनमा मिसाई कपडाको आकारमा लुकाएर नेपाल भित्र्याइएको ४ किलो २५८ ग्राम तरल (लिक्विड) कोकिन सहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ। यो नेपालमा कोकिन तस्करीको नयाँ शैलीका रूपमा देखिएको ब्युरोले जनाएको छ।
ब्युरोका अनुसार कतार एयरवेजको QR-646 उडानमार्फत कोलम्बियाबाट दोहा हुँदै काठमाडौं आइपुगेकी कोलम्बियाकी ६२ वर्षीया YONETH GARZON CAICEDO लाई काठमाडौं महानगरपालिका–१६ स्थित एक होटलमा खानतलासी गर्दा कोकिन बरामद गरिएको हो।

प्रहरीले उनको साथमा रहेको सुटकेसभित्र फल्स बटम बनाई ब्ल्याङ्केट, सर्ट, ज्याकेट, एप्रोन तथा नेक पिलोजस्ता कपडाजन्य सामग्रीमा सिलिकन मिसाएर लुकाइएको अवस्थामा ४ किलो २५८ ग्राम कोकिन फेला पारेको जनाएको छ।
घटनाको थप अनुसन्धानका क्रममा उक्त कोकिन लिन भारतको मणिपुरबाट काठमाडौं आएकी ३१ वर्षीया भारतीय नागरिक REBECCA PULLE लाई पनि पक्राउ गरिएको छ। उनीबाट थप आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूबाट एक थान पासपोर्ट, भारतीय निर्वाचन आयोगको परिचयपत्र, २०० अमेरिकी डलर, चार थान मोबाइल फोन र एक थान सुटकेससमेत बरामद गरेको छ।
ब्युरोका अनुसार पछिल्लो समय दक्षिण अमेरिकाबाट नेपालमा कोकिन तस्करी गर्ने गिरोहले लिक्विड कोकिनलाई सिलिकनसँग मिसाएर कपडाको आकार र साइजमा तयार पार्ने नयाँ तरिका अपनाउन थालेको देखिएको छ। प्रहरीले यसलाई अन्तर्राष्ट्रिय लागुऔषध तस्करीको नयाँ प्रवृत्तिका रूपमा विश्लेषण गर्दै घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।




